योजना निर्माणमा सहभागि बन्नोस् ः एकीकृत विकास सम्भव हुन्छ — मेयर शाक्य

वडा ७ का बिकासे योजनामा सार्वजनिक सुनुवाई सम्पन्न

चन्द्रमणि भट्टराई
कार्तिक १९

DSC_8182काठमाडौंं । एकीकृत पूर्वाधार विकासका समस्या पहिचान र प्राथमिकता छुट््याउन स्थानीय सहभागिता अनिवार्य शर्त भएको बताउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — टोल सुधार समितिको सक्रियताले योजनावद्ध र दिगो विकासमा योगदान पुग्ने बताउनुभएको छ । सोमबार वडा ७ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर शाक्यले — टोल विकासका लागि जनप्रतिनिधिले नेतृत्व गर्ने भए पनि समस्या पहिचान गर्न, योजनाको प्राथमिकीकरण गर्न र कामको प्रभावकारिता अनुगमन गर्न स्थानीयबासीको संयन्त्र बलियो हुने धारणा राख्नुभयो । ठूला बडाको विकासका लागि महानगरले बार्षिक ३ करोड रुपैयाँ प्रदान गरेको छ । त्यसभित्र २५ लाख रुपैयाँ लागत भएका योजना स्वीकृत गर्ने अधिकार वडालाई नै दिएका छौं, मेयर शाक्यले थप्दै भन्नुभयो — बालुवा र गिटीले ढल थुनिएको छ । घर निर्माण गर्ने क्रममा थुपारिएको निर्माण सामाग्रीबाट तत्काल पनि समस्या छ । यसले पछिसम्म पनि समस्या बनाउँछ । यस्ता काममा नागरिकले सजगता अपनाउने हो भने महानगरलाई सहयोग र स्थानीयबासीलाई सहज हुन्छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष शुद्धकुमार डंगोलले — स्वीकृत योजना कार्यान्वयन गर्नुअघि स्थानीयबासीसँग योजना सञ्चालन गर्ने विधि, यसका प्रभाव र परिणामका विषयमा छलफल गरेर मात्र काम गरिने भएकोले वडाबाटद सञ्चालन हुने योजनामा छुटेका विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्ने स्थानीयले सडक कालेपत्रे गर्नु पूर्व सडक किनाराका पोल सार्नु पर्ने, ढल र खानेपानीका पाइप विस्तार गर्नु पर्ने, पुराना ढलको क्षमता विस्तार गर्नुपर्ने, सडक विस्तार र मेलम्ची खानेपानीको कामलाई समस्याग्रस्त योजनाबाट बाहिर निकाल्न पहल गर्नु पर्ने, सडकका दुवैतर्फ सतही ढल निर्माण गर्नु पर्ने विषयलाई सुझावका रुपमा प्रस्तुत गरेका थिए भने सटरको व्यापार पैदल मार्गमा निकाल्ने पद्धतिलाई निरुत्साहित गर्नुपर्ने माग गरेका थिए । यसरी धारणा राख्ने स्थानीयहरु पूर्वाधार विकासका काममा नै केन्द्रीत थिए ।

 

यसमा तपाइको मत