बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन

२७९ बुथबाट २ दिनमा करीब १ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुललगायत सेवा दिइने

चन्द्रमणि भट्टराई
कार्तिक १४

DSC_7252काठमाडौं । कार्तिक १४ र १५ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रममा महानगरले २७९ वटा बुथमा ५५८ जना महिला स्वास्थ्य स्वयम्सेविका खटाएको छ । करीव १ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल दिने लक्ष्य राखेको महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ भने बालभिटा घर पठाइन्छ । घरमा पठाइने बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो । यसलाई मनतातो जाउलोमा हालेर बच्चालाई खुवाउनु पर्छ । कार्यक्रममा बालबालिकालाई सुक्षम पोषक तत्व पुगे नपुगेको जानकारी लिन पाखुराको नाप लिइन्छ ।

DSC_7292कार्यक्रमको पहुँचमा बालबालिकालाई ल्याउन बुथ स्थापना गर्ने क्रममा संख्या सन्तुलन हेरिएको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । न्युन आय भएका परिवार बसोबास गर्ने तथा अव्यवस्थित बसोबास भएका स्थानलाई विशेष निगरानी गर्छौ, उहाँले कार्यक्रमका विषयमा स्पष्ट पार्नुभयो । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई — भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी पनि दिइने महाशाखा प्रमुखले बताउनुभयो ।

कार्यक्रममा के हुन्छ?

कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुको पाखुराको नाप लिइनेछ । ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषक तत्व बालभिटा दिइनेछ । सहरका बालबालिकामा असन्तुलित आहारकाकारण कुपोषण देखिन थालेकाले औषधि खुवाउने क्रममा पाखुराको नाप लिइन थालेको हो । यसबाट बालबालिकामा हुने पोषणको लेखा जोखा हुनेछ । बालबालिकाको पाखुरा नाप्दा ११ दशमलव ५ सेन्टिमिटर भए कडा शीघ्र कुपोषण भएको मानिन्छ । यसको नापमा रातो रङ्गको प्रयोग हुन्छ । ११ दशमलव ५ सेन्टिमिटरदेखि १२ दशमलव ५ सेन्टिमिटरसम्म पाखुरा भएका बालबालिकालाई मध्यम शीघ्र कुपोषण भएको मानिन्छ । यसमा पहेँलो रङ्गको सङ्केत हुन्छ । रातो र पहेँलो रङ्गको सङ्केत भएका बालबालिकामा भएको कुपोषण घटाउन उपचार गरिनु पर्ने चिकित्सकहरुको भनाइ छ । यसबाहेक १२ दशमलव ५ सेन्टिमिटर भन्दामाथि पाखुराको गोलाइ भएका बालबालिकालाई सामान्य अवस्था मानिन्छ । यी बालबालिकालाई बालभिटा औषधि दिइन्छ । तिनीहरुलाई बालभिटा औषधि खुवाउनुबाहेक अन्य उपचार गराइरहनु पर्दैन ।

कडा र दीर्घ रोग भएका बालबालिकालाई भने नियमित परीक्षण गराइरहेको चिकित्सकको सल्लाहमा मात्र औषधि दिइन्छ ।

Tags

#Vitamin_A

यसमा तपाइको मत