कार्तिक १६ गतेदेखि अग्नि सुरक्षा सचेतना कार्यक्रम हुने

आगलागीका कोणबाट तिहारको अवधिमा बढी सचेतनाको खाँचो

चन्द्रमणि भट्टराई
कार्तिक ११

काठमाडौंं । महानगरले कार्तिक १६ गतेदेखि अग्नि सुरक्षा सप्ताहव्यापी सचेतना कार्यक्रम गर्ने भएको छ । आइतबार सभागृहस्थित महानगरीय आपतकालीन केन्द्रमा सम्पन्न सरोकारवाला निकायका अधिकारीसहितको तयारी बैठकले यस्तो निर्णय गरेको हो । आगलागी मानव सृजित विपत्ति हो । मानवीय सावधानीबाट यसलाई कम गराउन सकिन्छ । अन्य समयमा भन्दा तिहारमा आगो र विजुलीको धेरै प्रयोग हुने भएकोले आगलागीको सम्भावना पनि उत्तिकै बढी हुन्छ । यो जोखिम घटाउन सचेतनामुलक कार्यक्रम गर्न लागिएको हो ।

वैठकमा बोल्दै विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले — सचेतनामुलक कार्यक्रममा वडा समिति, वडास्तरीय विपद् व्यवस्थापन समिति, नागरिक, सुरक्षा निकाय (सेना, शसस्त्र र नेपाल प्रहरी) सहभागी हुने र धेरैले सूचना पाउने गरी कार्यक्रम आयोजना गरिने बताउनुभयो । यस प्रकारको कार्यक्रम विगत केही बर्षदेखि निरन्तर चलिरहेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख इन्द्रमानसिंह सुवालका अनुसार — सचेतना कार्यक्रमबाट आगलागीका घटनामा कमी भएको अनुभव छ ।

वैठकमा विपद् व्यवस्थापन समितिका सदस्यहरु, विभागका अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, काठमाडौं, भक्तपुर र ललितपुरका बारुण यन्त्र कार्यालय प्रमुखहरु, नेपाल स्काउटका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

यसमा तपाइको मत