राजनीतिक आन्दोलनको कोर्ष सकियो

माघ १३

धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नु भएको स्थानमा श्रद्धाञ्जली सभा सम्पन्नः विधिको शासनले सहिदको सपना पूरा हुनेमा जोड 

काठमाडौं । सहिद सप्ताहका कार्यक्रममा बोल्ने बक्ताहरुले राजनीतिक आन्दोलनको कोर्ष पूरा भएको बताउन थालेका छन् । यस बर्ष सहिद सप्ताहको दोश्रो दिन अर्थात् माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको काठमाडौं सिफल उकालोमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा वक्ताहरुले सहिदको सपना पूरा गर्न अव सामाजिक र विकासका आन्दोलनमा सक्रिय हुनु पर्ने बताएका हुन् । 

सभामा बोल्दै सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — नागरिक पराधीन भएका बेला कसैले सत्तामा बसेर त कसैले सत्ताबाहिर बसेर आन्दोलन गरेको स्मरण गर्दै, त्यही आन्दोलनले गणतन्त्रसम्म पु¥याएको बताउनुभयो । पछिल्लो समय जुनसुकै कारणले मृत्यु भएका मानिसलाई सहिद भनेर वास्तविक सहिदप्रति अपमान भएको जनाउँदै मेयर शाक्यले पीडितको पीडामा सहयोग गर्नु पर्ने तर सहिद घोषणा गर्न देश र नागरिक स्वतन्त्रताकालागि सहादत गरेकै व्यक्ति हुनु पर्नेमा जोड दिनुभयो ।

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र सम्पन्नतालाई महत्व दिनुभयो । त्यसैले अहिले प्राप्त भएको राजनीतिक उपलब्धीमा धर्मभक्तको योगदान शव्दमा कम हुने बताउँदै महानगरकी उपप्रमुख एवं सहिद सप्ताह मुल समारोहकी उपसंयोजक हरिप्रभा खड्गी श्रेष्ठले पाठ््यक्रममा राखेर सहिदको वास्तविक योगदान प्रवर्धनमा योजना अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । 

सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले, पदीय दायित्वबमोजिमको जिम्मेबारीले मात्र सहिदको सपना पूरा हुनेमा जोड दिनुभयो भने पूर्व उपकुलपति केदारभक्त माथेमाले, सहिद शव्दको अपव्याख्या भएकोले यसको वास्तविकता जोगाउन विद्यालय स्तरीय अध्ययन अध्यापनको आवश्यकता देखाउनुभयो । 

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड पाएका धर्मभक्त माथेमाको स्मृतिमा शनिवार प्राणदण्ड प्राप्त गरेकै स्थानमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिइएको थियो । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

सहिद धर्मभक्त माथेकाको सालिक २०७० सालमा पहिलो राखिएको स्थानभन्दा करीव ५ मिटर पश्चिमतर्फ सारिएको छ । काठमाडौको सडक विस्तारका क्रममा शालिक सार्दा, पुरानो कालो रङ्गको अर्धकदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक पुन अनावरण गरिएको हो । यस अघि वि. सं. २०५३ माघ १३ गते नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले शालिकको पहिलोपटक अनावरण गर्नुभएको थियो । 

धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक थिए भने, उनले राजालाई प्रजातन्त्रकालागि काम गर्न प्रजा परिषद्को सदस्यसमेत बनाएका थिए ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत