काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको थप ५ करोड

काष्ठमण्डप महानगरले आफ्नै पैसामा बनाउने हो, बहुबर्षिय यस योजनाका लागि चालु आ. व. मा ८ करोड रकम विनियोजित छ — मेयर शाक्य

चन्द्रमणि भट्टराई
आश्विन २७

DSC_3440काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गर्नुभएको छ । शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले उक्त चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काम भइसकेको र सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकोले थप काम अघि बढाउन यो रकम उपलब्ध गराइएको हो ।

रकम प्रदान गर्दै मेयर शाक्यले — १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने कुरा आफूले भन्दै आएको बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको जानकारी दिनुभयो । भौतिक रुपमा देखिने प्रगति अबको प्रतिक्षा हो । मेयर शाक्यले भन्नुभयो — पुननिर्माण समितिबाट आउँदो असार मसान्तभित्र भौतिक जग देखिने कार्ययोजना सुनेको छु । यसबाट उत्साहित भएको छु । काष्ठमण्डपको मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामाग्री सहज उपलब्ध छैन, यसका बाबजुद पनि कार्ययोजना बमोजिम काम गर्नु पर्छ । मेयर शाक्यले सम्पदा पुननिर्माणमा प्राप्त उपलब्धीलाई उधृत गर्दै भन्नुभयो — बसन्तपुरका अन्य सम्पदा पुननिर्माणको प्रगति पनि राम्रो छ । माजु देग पुननिर्माणका लागि कार्यादेश दिन बाँकी छ । कुमारी घरको पनर्माण वा पुननिर्माण गर्ने विषयमा प्राविधिक परीक्षण भइरहेको छ ।

सोही अवसरमा बोल्दै वडा २३ का अध्यक्ष मचाराजा महर्जनले, बसन्तपुर क्षेत्रमा सम्पदा पुननिर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाउँदै, काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्धार, पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको बताउनुभयो । दरबार क्षेत्रसँग १९, २०, २३ र २४ गरी ४ वटा वडाको जोडिएका छन् । हामी आपसमा मिलेर काम गरिरहेका छौं, वडाध्यक्ष महर्जनको भनाइ थियो । यी ४ वटा वडाका ७३ वटा योजनाका विषयमा जानकारी गराउँदै वडाध्यक्ष महर्जनले — १८ वटा योजना सम्पन्न भएको, १२ वटा काम हुँदै गरेको, ६ वटाको काम हुन बाँकी, ५ वटा खरिद प्रक्रियामा रहेको, ७ वटा परातत्व विभागसँग समन्वय भइरहेको, १६ वटाको लगत अनुमान र नक्सा तयार हुँदै गरेको, विवरण सुनाउनुभयो । यी योजनासँगै अन्य निकायका २ वटा योजना भएको पनि उहाँको भनाइ थियो ।

DSC_3441काष्ठमण्डप पुननिर्माण समितिसँग सहकार्यको पृष्ठभूमि

महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति थियो । यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुुननिर्माण गर्ने÷गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो । यसैबीच गएको २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ क का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुननिर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेष्ठ २४ गते समितिको प्रस्तावबमोजिम पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

सहमतिका मुख्य बुँदा

सहमति पत्रमा, नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागको राय परामर्श र काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी र नागरिक संघसंस्थाको सहयोग र सहभागितामा काष्ठमण्डपको पुननिर्माण गरिने कुरा उल्लेख छ ।

११ बुँदामा सम्पन्न सहमति पत्रमा काठमाडौं महानगरलाई प्रथम पक्ष र समितिलाई दोश्रो पक्ष भनिएको छ काठमाडौं महानगरपालिकाको प्रतीकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत गराएर काम गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । यसरी तयार गरिने डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्र्य रुपमा गर्न/गराउन प्रा. डा. श्री प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समितिको व्यवस्था गरिएको छ ।

पुन निर्माण समितिले काष्ठमण्डप पुनःनिर्माण कार्यको मुख्य कार्यान्वयन समितिको रुपमा काम गरिरहेको छ । पुन निर्माण कार्यमा व्यापक जनसहभागिता जुटाउने, यस कामलाई जनचासो र जनसमर्थनको विषय बनाउने जिम्मेवारी पनि समितिको काँधमा छ । यसका लागि महानगरलाई कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने, नागरिक र सरोकारवालाका बीच कम्तीमा ३÷३ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने समितिलाई जिम्मेबारी दिएर पुननिर्माण कार्यलाई पारदर्शी बनाउने प्रयास गरिएको छ । त्यस्तै पुनःनिर्माण कार्यलाई सहभागितामुलक बनाउन काठमाडौं जिल्ला क्षेत्र नं.६, ७, ८ र ९ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरु, काठमाडौं जिल्ला क्षेत्र नं. ६ क, ७ क, ८ क र ९ क बाट निर्वाचित प्रदेश नं.३ प्रदेश सभाका सदस्यहरु र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुुुुख रहेको सल्लाहकार समूह र समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समितिको व्यवस्था गरिएको छ ।

काष्ठमण्डप पुनःनिर्माण काठमाडौं महानगरपालिकाको महत्वपूर्ण.जिम्मेवारी भएको हुँदा, महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल, अन्तरक्रिया गरी प्राप्त राय सुझावका आधारमा पुननिर्माण समितिले काम गरिरहेको छ ।

पुननिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ । त्यस्तै प्रा. डा. प्रेमनाथ मास्केको संयोजकत्वमा ७ सदस्यीय विज्ञ समिति छ ।

यसमा तपाइको मत