कुमारी घरको भूकम्पीय संवेदनशीलता प्राविधिक परीक्षण शुरु

परीक्षणको तथ्य विश्लेषणपछि निर्माण कि पुननिर्माण भन्न सकिने — प्राविधिक

चन्द्रमणि भट्टराई
असोज २५

DSC_3144

 

परीक्षणका लागि घरको भित्री कोठाको बाहिरी पर्खालमा बनाइएको २×२ को खोपा

काठमाडौं । जीवित देवी कुमारीको निवास रहेको बसन्तपुरस्थित कुमारी घरको भूकम्पीय संवेदनशीलता अवस्था विश्लेषणका लागि विहीबार प्राविधिक परीक्षण गरियो । २०७२ सालको भूकम्पका कम्पनबाट हुन सक्ने सम्भावित क्षति न्युनीकरणका लागि कुमारी घरको वरिपरिबाट टेका लगाइएका थिए । भित्री चोकमा मात्र यसप्रकारका १२ वटा टेका छन् । यसरी लगाइएका टेका अब कसरी हटाउने? कतै टेका हटाउँदा घर त जोखिममा पर्ने होइन? यसको प्रविधिमा आधारित समाधानका लागि महानगरको हनुमान ढोका दरवार संरक्षण कार्यक्रमको अगवाईमा परीक्षण गरिएको हो ।

यी टेका हटाउने विषयमा कार्यक्रमका प्रमुख उदयबहादुर पसखलको अध्यक्षतामा साउन २२ गते पहिलो बै्रठक बसेको थियो । यो बैठकले विषयविज्ञसहित स्थलगत अवलोकन गर्ने निर्णय ग¥यो । यसैका आधारमा संरक्षण कार्यक्रमसहित, हनुमानढोका हेरचाह अड्डा, पुरातत्व विभाग, गुठी संस्थान, भूकम्प प्रविधि राष्ट्रिय समाज र कुमारी घरका प्रतिनिधिले साउन २९ गते स्थलगत अवलोकन गर । यसरी भएको भ्रमण अवलोकनपछि परामर्शदाताबाट प्राविधिक परीक्षण गराउने निर्णय भएको थियो । यसपछि भएको खुल्ला बोलपत्र आव्हानबाट छनौटमा परेको अर्टेक प्रा. लि. ले घरको भूकम्पीय संवेदनशीलता अध्ययन गरिरहेको हो ।

DSC_3220
परीक्षणका लागि जोडिएको उपकरण

२०७२ सालको भूकम्पले कुमारी घरका केही भित्ता चर्किएका थिए । पर्खाल मोटो भएकाकारण डराउनु पर्ने अवस्थाचाहिँ थिएन । तर निर्धक्क भएर बस्ने अवस्था पनि थिएन । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्य भन्नुहुन्छ — निरन्तर भुर्इँचालो आइरहेपछि त्यसबेलाको सम्भावित जोखिम घटाउन भित्री चोक र बाहिरबाट टेका लगाइएको थियो । कुमारी घरको निर्माण कि पुननिर्माण तपाईको राय के भन्ने प्रश्नको उत्तरमा शाक्य भन्नुहुन्छ — सवलीकरण गरे हुन्छ होला । गौत्तमको मतमा मोही नाइके धनभाजू महर्जनको पनि पनि मिल्दो छ । उहाँहरुले त्यहाँ रहँदा गरेको अनुभूतिका आधारमा यस्तो प्रतिक्रिया दिनुभएको हो ।

परीक्षणका लागि कुमारी घरको भित्री दुई कोठामा खोपा बनाइएको थियो । वरिष्ठ स्ट्रक्चर इञ्जिनियर (संरचनाविद्) डा. पुरुषोत्तम डंगोलका अनुसार परीक्षणका क्रममा फ्ल्याक ज्याक टेस्ट र इन्सिटु शेयर टेस्ट गरियो । फ्ल्याक ज्याक टेस्टमा माटो र इटा जोडाइको भारवहन क्षमता पहिचान हुन्छ भने इन्सिटु टेस्टमा होरिजेन्टल फोर्स कति थेग्न सक्छ भन्ने परीक्षण हुन्छ । यो किलोमिटर पर मिटर स्क्वायरमा मापन गरिन्छ । यसको तथ्याङ्क विश्लेषण ४ दिनसम्ममा आउँछ । त्यसपछि टेको हटाउने, यथावत् राख्ने वा फरक प्रकृतिको टेवा दिने? अथवा निर्माण वा पुननिर्माण गर्नु पर्ने हो भन्ने तथ्य भन्न सकिन्छ ।

कुमारी घर पुननिर्माणका लागि गुठी संस्थानले ड्रइङ् डिजाइन र लागत अनुमान तयार पारिसकेको छ । यसमा संरचना विश्लेषण (स्ट्रक्चर एनलाइसिस) नभएकोले अन्तिम मानिएको छैन ।



यसमा तपाइको मत