कपुरधारामा शिव मन्दिरको उद्घाटन

 

चन्द्रमणि भट्टराई
असोज २४

DSC_2987काठमाडौं । काठमाडौं महानगरको वडा नं. २६ कपुरधारामा शिव मन्दिरको उद्घाटन गरिएको छ । बुधबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वडाध्यक्ष ख्यामराज तिवारी, नेपाली चलचित्रका महानायक राजेश हमाल, सामाजिक अगुवाहरु देवेन्द्र रिमाल, विनोद बस्न्यात, महेश खड्गीलगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक खनालले — सामाजिक सद्भाव स्थापित गर्ने भौतिक संरचनाको दिगो उपयोगमा ध्यान पु¥याउनु पर्ने बताउनुभयो भने वडाध्यक्ष ख्यामराज तिवारीले — नागरिक चाहनाबमोजिमका सार्वजनिक उपयोगका संरचना निर्माण, पुननिर्माण तथा मर्मत कार्य वडाका प्राथमिक काम भएको बताउनुभयो । विगतमा फोहोर फाल्ने ठाउँमा मन्दिर निर्माण भएको प्रशन्नता व्यक्त गर्दै महानायक हमालले — समाज सुधारका काममा स्थानीयको एक मत रहेको आफूलाई महसुस भएको धारणा राख्नुभयो ।

भारतीय दूतावासको आडमा रहेको करीव २ आना जमिनमा करीव साढे ९ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो । यो जमिन कुनामा रहेकोले विगतमा अनधिकृत फोहोर फाल्नेलाई सजिलो भएको थियो । अव त्यस ठाउँमा फोहोर नहुने स्थानीयले विश्वाश गरेका छन् ।

आजै कपुरधारा टोल सुधार समितिले बार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमका वक्ताहरुले स्थानीय विकास, सामाजिक सुरक्षा र व्यवस्थाका विषयमा आपसी सौहाद्रता वृद्धि हुने कार्यक्रम निरन्तर चलाउनु पर्ने खाँचो देखाएका थिए ।

 

 

यसमा तपाइको मत