पशु प्राबिधिकसहितको टोली भोलिबाट चौपाया बजारमा

वध गर्न योग्य चौपायाको सिङ्मा हरियो र अयोग्यको सिङ्मा रातो चिन्ह

चन्द्रमणि भट्टराई
असोज २३

DSC_2921काठमाडौं । दशैं लक्षित खसी, बोका, भेडा च्याङ्ग्रा बजारमा भोलिदेखि पशुचिकित्सकसहितको टोली खटिने भएको छ । काठमाडौंमा बिक्री हुने रोगी र प्रयोग गर्न अयोग्य चौपायाको पहिचान गरेर बिक्री नियन्त्रण गर्न टोली खटिने भएको हो । मंगलबार महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठका कार्यकक्षमा सम्पन्न बैठकले — व्यवसायीसहितको टोलीले सुधारका काम गर्ने र नियमनकारी निकायको टोलीले अनुगमन गर्ने निर्णय गरेको छ । चौपायाको स्वास्थ्य परीक्षणका लागि १ जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगर प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिने छ । यो टोलीको बिक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गर्नेछ । यस क्रममा चौपाया निरोगी भए सिङ्मा हरियो चिन्ह लगाउने छ भने रोगी भए रातो चिन्ह लगाउनेछ । उपभोक्ताले चौपाया खरिद गर्दा सिङ्मा हरियो रङ्ग लगाइएका खसी, बोका, भेडा च्याङ्ग्रा खरिद गर्न महानगरले उपभोक्तालाई आग्रह गरेको छ ।

वैठकमा बोल्दै उपप्रमुख खड्गी श्रेष्ठले — स्वच्छ, स्वस्थ्य र गुणस्तरीय मासु उत्पादन, प्रशोधन तथा बिक्री वितरण व्यवस्था सबैको साझा मुद्दा बन्नु पर्नेमा जोड दिनुभयो । अनुगमन तथा स्वास्थ्य परीक्षण कार्यको लक्ष्य, कसैलाई लाभ र कसैलाई हानी पु¥याउनु होइन । खान योग्य मासुको प्रवर्धनका लागि सबै मिलौं । तत्काल सुधार गर्न सकिने काम अहिल्यै सुधारौं । अहिले सम्भव नहुने कामलाई नियमित काममा रुपमा अघि बढाऔं । मासुजन्य खाद्यबस्तुको उत्पादन तथा विक्री वितरणमा कुनै पनि प्रकारका सम्झौता गर्नु हुँदैन । महानगरका सहसचिव डा. टोकराज पाण्डे भन्नुहुन्छ — सबै नागरिकमा पशुको स्बास्थ्य अवस्थाको प्राविधिक ज्ञान नहुन सकछ । त्यसैले महानगरले रोगी निरोगीलाई चिन्ह लगाएपछि उपभोक्तालाई निरोगी चौपाया खरिद गर्न सहयोग पुग्छ ।

महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार यसबर्ष महानगरका ४ स्थानमा चौपाया बजार राखिनेछन् । गएको बर्ष दशै अवधिमा सञ्चालन भएका बजारमध्ये यस बर्ष तीनकुनेमा बिक्री वितरण हुने छैन । चौपायाका लागि आवश्यक पर्ने पानी, घाँसको उपलब्धता र व्यवस्थापकीय सहजता नमिलेका कारण तीनकुनेमा यस बर्ष बजार नचलाइने भएको हो ।

DSC_2828व्यवसायी सरकारका प्रतिपक्ष होइनन्, हामीलाई गलत देखाउने काम रोकिनुपर्छ — व्यवसायी

मंगलबार मासु उत्पादन तथा विक्री वितरणका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि, आफूमाथि हेर्ने सरकारी दृष्टि पपिरवर्तनको माग राखेर महानगर पुगे । त्यस क्रममा उनीहरुले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई भेटेका थिए । यसरी महानगर पुगेका संघ संस्थाका प्रतिनिधिहरुले पशु बधशाला व्यवसायी संघ, नेपाल खड्गी सेवा समिति (खड्गी समाज), बङ्गुर व्यवसायी संघ, चौपाया खरिद विक्री सेवा संघ र राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघको प्रतिनिधित्व गरेका थिए ।

पशुपक्षीको मासु व्यवस्थापनका लागि उनीहरुका विभिन्न ७ वटा शीर्षकमा माग छन् । बधशाला÷बधस्थल निर्माण, सुधार, सञ्चालन र व्यवस्थापन, मासु जाँचका लागि तालिम र प्रयोगशाला, पूर्वाधार निर्माण र ढुवानी साधन, जनचेतना र तालिम, व्यवस्थित मासु पसल स्थापना तथा सञ्चालन, चौपाया व्यवस्थापन केन्द्र स्थापना जस्ता काममा केन्द्रीत छन् । व्यवसायीका माग सुनिसकेपछि उपप्रमुख खड्गी श्रेष्ठले — मासु व्यवस्थापनको काम तत्काल निर्णय गर्न नसकिने तथा एक्लै व्यक्ति वा एउटै मात्र निकायले गर्न नसक्ने भएकोले, महानगरका मेयरसँग विषय पु¥याएर उपत्यका र बाहिर सम्बन्धित जनप्रतिनिधिसँग एउटै थलोमा बस्ने वातावरण बनाउन पहल गर्ने बताउनु भयो । यसका लागि मासु खपत हुने नगर र पशुपक्षी उत्पादन गर्ने गाउँ वा नगरका जनप्रतिनिधि एउटै ठाउँमा बसेर साझा मत निर्माण गर्न आवश्यक छ, उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

आफ्ना माग प्रस्तुत गर्ने क्रममा खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले न्युनतम पूर्वाधार सरकारले तयार गरेपछि बाँकी काम व्यवसायीले गर्ने बताउनुभयो भने पशु वधशाला व्यवसायी संघका महासचिव कृष्णहरि भट्टले, सहरमा आइसकेका पशुपंक्षीलाई रोगी निरोगी भनेर भाग लगाउनुभन्दा उत्पादन भएकै ठाउँमा ढुवानी गर्न वा बजार लैजान हुन्छ कि हुँदैन भन्ने निक्र्यौल गर्न सके समस्याको धेरैजसो समाधान त्यहीँ हुने धारणा राख्नुभयो ।

 

यसमा तपाइको मत