सामुदायिक शिक्षाको स्तरउन्नतिका लागि बरिष्ठ स्वयमसेवक परिचालन तयारीमा महानगर

स्तर भएकोलाई घटाएर होइन, कमजोरको स्तरउन्नति गरेर प्रतिस्पर्धा - मेयर शाक्य

DSC_2784चन्द्रमणि भट्टराई
आश्विन २३

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको स्तरउन्नतिका लागि वरिष्ठ स्वयम्सेवक परिचालन गरिने भएको छ । विभिन्न क्षेत्रबाट सेवा निवृत्त भएर फुर्सदिला व्यक्तिहरुलाई सामुदायिक शिक्षाको गुणस्तर बढाउन स्वयम्सेवकका रुपमा परिचालन गरिनेछ । महानगरले अघि सारेको यस प्रकारको योजनाबाट सामुदायिक शिक्षाको गुणस्तर विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रधानाध्यापकहरुको प्रतिक्रिया छ ।

आधारभूत शिक्षामा निजी क्षेत्रबाट भएका व्यवस्था र सामुदायिक क्षोत्रबाट भएका प्रयासहरुको तुलना हुने गरेको छ । यस तुलनामा निजी अगाडि र सामुदायिक पछाडि भन्ने टिप्पणी हुने गर्छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ — कहिलेकाहीँ निजी लगानीबाट सञ्चालित शिक्षा प्रणालीलाई अङ्कुश लगाउने सुझाव पनि आउँछ तर म भन्छु — स्तर भएकालाई घटाएर होइन, कमजोरको स्तरउन्नति गरेर प्रतिस्पर्धा गरौं । समाज व्यवस्थापन गर्न आवश्यक पर्ने सन्देश विदार्थीमार्फत घर घरमा पठाउन सकिन्छ । त्यसैले फोहोर व्यवस्थापन, हरियाली प्रवर्धन जस्ता क्षेत्र सामुदायिक विद्यालयलाई सिकाइ स्थल बनाउन सकिन्छ । सहरी व्यवस्थापनका लागि यस कोणबाट पनि काम गरौं, विद्यालयलाई आवश्यक पर्ने सहयोग हामी गर्छौ, मेयर शाक्यको भनाइ थियो ।

सामुदायिक विद्यालयको स्तर उन्नति गर्न पाठ््यक्रममा त्रुटी छ भने सच्याउँ, शिक्षक प्रतिस्पर्धी छैनन् भने क्षमता विकासका कार्यक्रम तयार पारौं । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला भन्नुहुन्छ — लगानीबमोजिमको परिणाम आउनु पर्छ ।

महानगरको शिक्षा विभागले यस बर्ष विद्यालयहरुको भवन निर्माण तथा रंगरोगन गर्ने, विद्यालय वातावरण सुधार, फलफुल वृक्षारोपण तथा हरियाली प्रवर्धन, शैक्षिक सामाग्री वितरण तथा शिक्षक तालिम सञ्चालन, कक्षा ८ को परीक्षा सञ्चालन, शिक्षा योजना तर्जुमा, नेपाल भाषा प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै वाचनालय तथा पुस्तकालयको स्तरोन्नति, स्वास्थ्य शिक्षा कार्यक्रम, बाल यौन हिंसा न्युनीकरण सम्बन्धि सचेतना कार्यक्रम पनि चलिरहेका छन् ।

यी कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि महानगरको शिक्षा विभाग र सहरी योजना आयोगले वरिष्ठ स्वयम्सेवक परिचालन योजना अघि बढाएका हुन् । आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार आउँदो शैक्षिक सत्रबाट कार्यक्रम कार्यान्वयनमा लैजाने योजना बनेको छ ।

 

यसमा तपाइको मत