शारदा माध्यमिक विद्यालयको उद्घाटन

१३ महिनामा ८ कोठे भवन निर्माण सम्पन्न

चन्द्रमणि भट्टराई
असोज १७

DSC_1288काठमाडौं । काठमाडौं महानगरको वडा ९ तिलगंगामा रहेको शारदा माध्यमिक विद्यालयको बुधबार, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पको कम्पनले क्षति भएको तत्कालीन ३२ कोठाको ५ तले भवन काम नलाग्ने भएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको आयोजना कार्यान्वयन इकाईमार्फत पुननिर्माण भएको हो । १ करोड ६ लाख ९७ हजार ९४१ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन बुधबार नै इकाइका प्रमुख अर्जुन रायमाझीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्तप्रसाद भेटुवाललाई निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्नुभयो ।

DSC_1471
नवनिर्मित भवनको अवलोकन गर्दै मेयर, उपमेयर, वडाध्यक्षलगायत अधिकारीहरु

उद्घाटन अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले — सामुदायिक विद्यालयलाई विद्यार्थीहरुको चौतर्फी विकासशाला बनाउनु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयले अब शैक्षिक विकासको कुरा गरेर मात्र हुँदैन । बिद्यार्थीको चारित्रिक, शारीरिक तथा मानसिक विकासबाट प्रतिस्पर्धी समाजको योग्य नागरिक बनाउनु पर्छ । मेयर शाक्यले थप्दै भन्नुभयो — विद्यालयको भौतिक अवस्था सुधार गर्न महानगरले सहयोग गर्छ । हरियाली प्रवर्धनका लागि फलफुल रोप्नोस्, विरुवा हामी किनेर दिन्छौं । सोही अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — बालबालिकालाई सामुदायिक विद्यालयबाट फर्किएको भन्न गौरव होस् । हामीले सामुदायिक विद्यालयको गुणस्तर त्यो लक्ष्यमा पु¥याउनु पर्छ । वडा ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले, विद्यालयको शैक्षिक विकासका लागि महानगरले सहयोग गर्ने बताउनु भएको छ । सहभागितामा महानगरले विद्यालयको अवस्था सुधारमा सहयोग गर्छ, विद्यालयले भौतिक पूर्वाधारको पूर्ण उपयोगमा ध्यान पु¥याओस् । वडाध्यक्ष श्रेष्ठले विद्यालयलाई आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद सिग्देलका अनुसार विद्यालयमा ५६१ जना विद्यार्थी अध्ययनरत छन् । करीव ५ रोपनी क्षेत्रफलमा रहेको विद्यालयमा कम्प्युटर ल्याव, विज्ञानको प्रयोगशाला, खेलमैदानको व्यवस्थापन हुन बाँकी छ । २००८ सालमा स्थापना भएको यो विद्यालय पशुपति क्षेत्र विकास कोषको जग्गामा छ । नयाँ भवन निर्माण हुने बेलामा कोषले असहमति जनाएको थियो । उसले संरचना निर्माणको विषयलाई लिएर महानगरमा उजुरीसमेत गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेटुवाल भन्नुहुन्छ — सामुदायिक काममा उपयोग भएको ठाउँमा कोषले किन यस्तो ग¥यो, थाहा भएन । यस विद्यालयको ६ कोठे भवन यस अघि नै उद्घाटन भइसकेको छ । त्यो भवन निर्माण गर्न ८६ लाख रुपैयाँ खर्च भएको थियो ।

२०७२ सालको भूकम्पको कम्पनबाट क्षति भएका विद्यालयहरुको पुननिर्माण हुने क्रममा शिक्षातर्फको आयोजना कार्यान्वयन इकाइले काठमाडौंका ३९ वटा सामुदायिक विद्यालयको पुननिर्माण गरिरहेको छ । यसमध्ये ८ वटाको उद्घाटनसमेत भइसकेको छ । यी विद्यालयहरु आयोजनाको सहयोगमा विद्यालय व्यवस्थापन समितिबाट पुननिर्माण भएका हुन् । यसैप्रकारबाट आ. व. २०७५/०७६ मा ५४ वटा विद्यालय पुननिर्माण हुनेछन् । यसबाहेक दातृ निकायबाट प्राप्त सहयोगबाट चालु आर्थिक बर्षमा १३ वटा विद्यालय पुननिर्माण भइरहेको आयोजना कार्यान्वयन इकाइ प्रमुख रायमाझी बताउनुहुन्छ ।

 

यसमा तपाइको मत