श्वेत भैरवको प्रसाद ग्रहण गर्न बुधबार महिलाहरुको भीड, महानगरकी उपप्रमुख पनि सहभागी

जात्रा पर्व तथा संस्कृतिजन्य गतिविधि लैङ्गिकमैत्री बन्दैछन् — उपप्रमुख खड्गी श्रेष्ठ

चन्द्रमणि भट्टराई
असोज ११

DMayor_archanashresthaकाठमाडौं । इन्द्रजात्राका अवसरमा श्वेत भैरवको मुखबाट प्राप्त हुने सगुन खान पाउनुलाई श्रद्धालुहरु गौरव मान्छन् । सबैको रक्षा गर्ने भैरवका रुपमा पुजिने श्वेत भैरवको प्रसाद खाएमा पेट नदुख्ने, बर्षभरि कुनैपनि किसिमका रोग ब्याधले नसताउने, निरोगी हुने, बालबालिकाहरुमा कसैको दोष लागेको भए दोषमुक्त हुने लगायतका विश्वाश जनसाधारणमा रहेको छ । भैरवको प्रसादका रुपमा नेवार समुदायका जात्रा तथा पर्वहरुमा सगुनका रुपमा प्रयोग गरिने रक्सीको प्रयोग हुन्छ । जात्रा शुरु भएपछि पूर्णिमाको दिनसम्म मन्दिरमा प्रसाद स्वरुप रक्सी खुवाउने गरिन्छ । यसका लागि केही बर्ष अघिसम्म पुरुषहरु मात्र सहभागी हुने गरेकोमा आज यो महिलाका लागि पनि खुल्ला गरिएको छ । महिलाका लागि १ दिन छुट्टै छुट््याउने गरिएको छ । यस क्रममा यसपटक बुधबार साँझ श्वेत भैरव अगाडि जम्मा भएर महिलाहरुले प्रसाद ग्रहण गरे ।

सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ पनि श्वेतभैरव भएको ठाउँमा पुग्नुभएको थियो । उहाँले अन्य महिलासँगै प्रसाद ग्रहण गर्नुभयो । यो पर्वले समाजमा महिलालाई घुलमिल गर्न सजिलो भएको र सांस्कृतिक गतिविधिमा परम्परागत रुपमा महिलामाथि लागेका बन्धनहरु खुकुलो हुँदै गएको उपप्रमुखको प्रतिक्रिया छ ।

श्वेत भैरव, इन्द्रजात्राका अवसरमा बर्षको एक पटक मात्र खुल्ला गरिने मूर्ति हो । काठमाडौं हनुमानढोका दरवार क्षेत्रमा कालभैरव मूर्तिको ठीक पछाडि बर्षभरि काठको ठूलो कोठे झ्यालभित्र रहेको भैरवको ठूलो शिरयुक्त मूर्तिले इन्द्रजात्राको गतिविधिसँग सम्बन्ध राख्छ । लिच्छबिकालमा प्रस्तरकलाबाट निर्माण गरिएको मानिएको भैरब मूर्तिलाई त्यस समय ठूलो भैरबको नामले चिनिन्थ्यो । DMayor_sunil sharma2समय, सामाजिक आस्था र विषय विश्लेषणमा वौद्धिक समूहको तर्कका आधारमा पछिल्लो समय ठूलो भैरवलाई श्वेत भैरव भन्न थालिएको बताइन्छ । लिच्छबिकालमा स्थापना भएको भैरबको मूर्तिलाई थुनेर राख्नुको प्रसङ्गसँग तत्कालीन राजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ । प्रस्तरकलामा निर्मित भैरबको मूर्तिलाई भत्काएपछि तत्कालीन राजाले सपनामा केवल भैरबलाई मात्र देखेपछि त्यस स्थानमा भैरवको मूर्ति पुनस्र्थापना गरी फेरि सपनामा नआउन् भन्ने उद्देश्यले थुनेर राखिएको बिश्वास गरिन्छ । त्यसै समयदेखि इन्द्रजात्राको दोश्रो अर्थात् द्वादशी तिथिका दिन भैरबलाई स्नान गराउनका निमित्त झ्यालहरु खोलेर खुल्ला गरिने परम्परा रहिआएको छ । जात्रा सञ्चालनमा जस्तोसुकै समस्या भए पनि श्रद्धालुहरु जात्राका गतिविधिमा मनैदेखि सहभागी हुने गरेका छन् । यस प्रकारका जात्रा तथा पर्वहरुले सहरमा घट्दै गएको सामाजिक सद्भाव र सामुहिक भावनालाई वृद्धि गर्न सक्ने देखिन्छ ।

श्वेत भैरवः पूजा विधि

इन्द्रजात्राको पहिलो दिन श्वेत भैरबको मन्दिरमा बिहान देखि नै पूजाआजा हुने गर्दछ । पूजाको पहिलो दिन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्था र विधि अनुसार पुजाआजा गरिने भएकोले श्वेत भैरव पूजालाई धार्मिक सहअस्तित्वका रुपमा हेर्न सकिन्छ । बौद्ध धर्मको विधि अनुसार — बज्रयानको प्रतीक मन्दिरअगाडि प्राङ्गणमा गुभाजुले बिभिन्न प्रकारका गेडागुडीलगायतका पूजा सामाग्रीले बिधिबत् रुपमा पुजा गर्छन् भने हिन्दू धर्ममा आधारित पशु बलि दिने गरिन्छ । दोश्रो दिन बर्षको एकपटक मात्र भैरबको झ्याल खोलेर स्नान गराई बली दिने प्रचलन रहेको छ । इन्द्रजात्रा अवधिभर भैरवको नित्य पूजा हुन्छ । भैरवलाई रक्षा गर्ने देवताका रुपमा पुज्ने गरिएको छ ।

तस्विर सौजन्य ः सुनिल शर्मा

यसमा तपाइको मत