ए डिभिजन ६ वटा फुटबल क्लवलाई महानगरको जनही ९ लाख ३० हजार सहयोग

पूर्वाधार विकासका काम प्राथमिकतामा राख्दै खेलकुदलाई अघि बढाउने प्रयास — मेयर शाक्य

चन्द्रमणि भट्टराई
भाद्र २५

DSC_4336काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले क्लवका अध्यक्षहरुलाई महानगरको लोगो अंकित फुटबल व्याग, जर्सीसहित सहयोग रकम प्रदान गर्नुभएको हो ।

सहयोग रकम तथा खेलकुदका सामाग्री उपलब्ध गराउँदै मेयर शाक्यले — फुटबलप्रति बढ्दै गएको मोह र खेलाडीको प्रोत्साहनका लागि सहयोग उपलब्ध गराएको बताउँदै यसबाट प्राप्त प्रतिफल मापन गरेर निरन्तरता दिने बताउनुभयो । सहरी विकासका प्राथमिकतामा पूर्वाधार विकासका काम नै छन् । यति हुँदा हुँदै पनि राष्ट्रिय समृद्धिका लागि खेलकुदको विकास गर्ने उद्देश्यले सहयोग गरिएको प्रमुख शाक्यको भनाइ थियो । यो सहयोग प्रदान गर्ने वातावरण तयार पार्ने लिगका संयोजक विज्ञानराज शर्मा र पूर्व अन्तरराष्ट्रिय रेफ्री ज्ञानीराजा श्रेष्ठको भूमिकाको चर्चा गर्दै मेयर शाक्यले फुटबलको विकासमा योगदान पु¥याउनेकोलाई विर्सिएर भविष्य सुधार्न नसकिने टिप्पणी गर्नुभयो ।

समारोहमा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ् शेर्पाले — फुटबलको विकासका लागि महानगरबाट प्राप्त भएको यो सहयोग स्थानीय सरकारहरुकातर्फबाट पहिलो र ऐतिहासिक भएको टिप्पणी गर्नुभयो । यो सहयोग अन्य स्थानीय सरकारका लागि सिकाइ पनि हो । फुटबलको विकासका लागि सबैको सहयोग भए राष्ट्रिय खेलाडी उत्पादन गर्न कठिन नहुने उहाँको भनाइ थियो । विगत ४ बर्षबाट रोकिएको फुटबल लिग यसपटक शुरु हुन लागेको जनाउँदै उहाँले राष्ट्रिय गौरवका लागि खेलकुदको विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

महानगरले जे उद्देश्य राखेर सहयोग दिएको छ, हामी त्यो पूरा गर्न तयार छौं । कार्यक्रममा क्लवहरुको प्रतिनिधित्व गर्दै मनाङ् मस्र्याङ्दी क्लवका अध्यक्ष कान्छा मुखियाले धारणा राख्नुभयो । अहिले काठमाडौंमा ए डिभिजनका ६ वटा क्लवहरु छन् । जसमा संकटा क्लब, इन्द्रमान तुलाधारको नेतृत्वमा छ भने, हिमालयन शेर्पा क्लव कर्मा छिरिङ् शेर्पा, मनाङ् मस्र्याङ्दी क्लब कान्छा मुखिया गुरुङ, एन आर टि क्लब दिपकहर्ष बज्राचार्य, सरस्वती युवा क्लव — क्षितिज पराजुली र मच्छिद्र क्लव — प्रभुतबीर कंसाकारको नेतृत्वमा छ ।

महानगरले यी क्लवहरुलाई सहयोग दिनु अघि क्लवका अध्यक्ष र महानगरको सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमश लगानी बढाउँदै लैजाने नीति लिएको छ । यही नीति बमोजिम यस पटकको सम्झौता सम्पन्न भएको हो ।

सम्झौताबमोजिम महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

 

 

यसमा तपाइको मत