जीवन पद्धति र संस्कार जोड्दै कपुरधारा

पूर्व रक्षामन्त्री र प्रधान सेनापतिबाट संयुक्त उद्घाटन

चन्द्रमणि भट्टराई
श्रावण १९

DSC_7666काठमाडौं । काठमाडौं महानगरको वडा नंं २६ मा रहेको कपुरधारालाई स्थानीय जीवनको इतिहासका रुपमा जोगाउनु पर्ने माग उठेको छ । शनिवार आयोजना गरिएको कपुरधारा तथा किरियापुत्री भवनको औपचारिक उद्घाटन समारोहमा बोल्ने बक्ताहरुको धेरै समय विगत अवस्थालाई भविष्यसँग जोड्ने योजनाको खाँचोमा खर्च भएको थियो । यस क्रममा बोल्दै पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले — हेर्दा सानो लाग्ने तर, स्थानीय नागरिकको दैनिक जीवनसँग सम्बन्ध राख्ने काम गर्न सके मात्र पनि जनप्रतिनिधिको महत्व बढ्ने धारणा राख्नुभयो । कपुरधारा स्थानीय जीवन पद्धतिको अभिन्न अङ्ग थियो तर यसलाई यथावत् राख्न सकिएन, यसले संस्कारगत क्रियाकलापमा क्षति पुग्यो, प्रधानको भनाइ थियो । कार्यक्रममा धारणा राख्ने क्रममा पूर्व सिचाइ मन्त्री सञ्जय गौत्तमले भन्नुभयो — पानी र जीवनको सम्बन्ध बचाउन सके मात्र पनि हाम्रा धेरै समस्या आफैं समाधान हुन्छन् । अहिलेको सामाजिक जीवन पानीको समस्यासँग जुधिरहेको छ, समाज व्यवस्थापन र विकास योजनाकारले यता ध्यान दिनुपर्छ ।

कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले — आफ्नो बाल्यकालसँग कपुर धाराको सम्बन्ध स्मरण गर्दै, यससँग भावनात्मक सम्बन्ध भएको सवैको चाहनाबमोजिम संरक्षणको खाँचो देखाउनुभयो । धाराको जीवन बचाउने काम नियमित प्रक्रिया हो, म यसका लागि काम गर्न तयार छु, उहाँको भनाइ थियो । किरिया पुत्री भवन र धाराको सम्बन्धमा चर्चा गर्दै वडा २६ का वडाध्यक्ष ख्यामराज तिवारीले — स्थानीयबासीलाई पानीको अभाव घटाउन सहयोग पुग्ने बताउँदै, पानीको गुणस्तरीयताका लागि वडाले काम गर्ने प्रतिवद्धता जनाउनु भयो । यसको सञ्चालन व्यवस्थापनको जिम्मेवारी स्थानीयको नै हो, स्थानीय स्वामित्व भएका सम्पत्तिको सुरक्षामा समस्या हुँदैन, वडाध्यक्ष तिवारीको भनाइ थियो ।

कपुरधारा किरियापुत्री भवन तथा खानेपानी व्यवस्थापन समितिले यसको नियमित रेखदेख गर्नेछ । सरकारी निकाय संघसंस्था तथा व्यक्तिगत रुपमा प्राप्त आर्थिक सहयोगबाट पुननिर्माण गरिएको यस काममा १३ लाख ११ हजार ९ सय ८७ रुपैयाँ लागत लागेको छ ।

 

यसमा तपाइको मत