धिमे बाजाको लोकप्रियता बढ्दै ।


झीगु नेवाः समाज, धनकुटा-१ हिलेको आयोजनामा धिमे बाजा एवं लाखे नृत्य सम्वन्धि एक महिने प्रशिक्षण यहि २०७५ श्रावण १६ गते धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा प्रमुख अतिथि श्री निरेन तामाङ्गले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । धिमे बाजा प्रशिक्षणमा महिला पुरुष गरी ५० जना सहभागी रहेको आयोजकले जनाएका छन् ।

नेवाः देय् दबूको समन्वयमा काठमाण्डौका नासः सृष्टि कलाका प्रशिक्षक धनकृष्ण साझवाले प्रशिक्षण दिनु हुनेछ । नासः सृष्टि कलाले हाल सम्म काठमाडौं उपत्यकामा ४५ स्थान र बाहिर बिभिन्न जिल्लाको ५ स्थानहरु जस्तै म्याङलुङ–तेह्रथुम, बिर्तामोड–झापा, मेचीनगर–झापा, बेनी–म्याग्दी, र अरुण खोला–नवलपरासीमा गरी हजारौं विद्यार्थीहरुलाई विभिन्न बाजागाजाहरुको प्रशिक्षण दिइसकेको नासः सृष्टि कलाका अध्यक्ष एवं वाद्यगुरु धर्म मुनिकार बताउनु हुन्छ । बाहिर जिल्लाहरुमा यसको लोकप्रियता बढ्दै गएकोले देशव्यापी प्रशिक्षणमा लागेको समेत वहाँ बताउनु हुन्छ ।


कार्यक्रममा प्रमुख अतिथि तामाङ्गले विभिन्न जातजातीका धर्म संस्कृति परम्परा संरक्षण प्रवद्र्धन गर्दै जानु पर्ने र अहिले सञ्चालन गरिएको प्रशिक्षणले सार्थकता पाओस् भन्ने कामना व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमको लागि आगामी दिनमा वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले अहिले समाजमा देखिएका जातीय विकृतिको न्यूनिकरणका लागि यस नेवाः समाजले यस्ता कार्यक्रमहरु गरेर भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले यस्ता जातिय परम्पराहरुलाई संरक्षण गर्दै जानका लागि आफ्नो तर्फवाट सहयोग गर्ने समेत वताउनुभयो । त्यस्तै वडा सदस्य लालचन गोम्वाले समाजले आप्mनो संस्कार संस्कृतिलाई जगेर्ना गरेर अघि बढ्ने जमर्काे गरेको प्रति खुशी व्यक्त गर्दै मातृभाषा सवैले बोल्न र अरु नयाँ पुस्तालाई पनि सिकाउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा प्रशिक्षक साझवाले नेवार समुदायको धिमेबाजाको महत्व र प्रयोग वारे जानकारी गराउनु भएको थियो ।
झीगु नेवाः समाजका अध्यक्ष दिजेश शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका सदस्य विक्रम श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य सन्तोष श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।