१३ देशका ३० सदस्य भएको अन्तरदेशीय मेयरहरुको सञ्जालमा, साझा सहरी समस्या र समाधानका विषयमा छलफल हुने
चन्द्रमणि भट्टराई
श्रावण १६
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, १२ औं एशिया प्यासिफिक सिटी समिटमा भाग लिन जापान प्रस्थान गर्नुभएको छ । अगष्ट १ देखि ३ तारिखसम्म जापानको फुकुओकामा सञ्चालन हुने सम्मेलन “दिगो सहर र समुदाय” विषयमा आधारित छ । यस बर्षको कार्यक्रमलाई संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम, एशिया प्यासिफिक क्षेत्रीय कार्यालय र फुकुओवा नगरले संयुक्त रुपमा आयोजना गरेका छन् ।
सम्मेलनमा २० देशका ४० भन्दा बढी सहरबाट प्रतिनिधित्व हुनेछ । त्यस्तै विश्व बैङ्क, एशिया विकास वैङ्क, जापान अन्तरराष्ट्रिय सहयोग नियोगलगायतका निकायको पनि सहभागिता हुनेछ ।
सम्मेलनमा भाग लिन जानु अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कुराकानी गर्दै मेयर शाक्यले भन्नुभयो — आपसी हित प्रवर्धनमा सम्मेलन लाभदायक हुने अपेक्षा गरेको छु । सम्मेलनमा दक्षिण एशियाली मुलुकका सहरको साझा समस्यासँग काठमाडौंका समस्या कति फरक रहेछन्, तुलना गर्न सजिलो हुनेछ । मेयर शाक्यले थप्दै भन्नुभयो — आधुनिक विकासबाट समृद्धि हासील गरेका क्षेत्रीय सहरका बीचमा काठमाडौंलाई प्राचीनता र आधुनिकता मिश्रित ऐतिहासिक सहरको पहिचान यथावत् राख्न आफूले गरिरहेका कामका विषयमा प्रस्तुती गर्नेछु । यो अन्य सरहको तुलनामा अनौठो काम हो । त्यसैले अन्य सहरको काठमाडौंतिर ध्यान आकृष्ट हुनेछ ।
सम्मेलनबाट काठमाडौंको सहरी योजना र पूर्वाधार बिकासमा काम गर्ने सरोकारवालालाई सहभागि गराउन सजिलो हुने आयोजकको अपेक्षा छ ।
सहरहरुका सम्भावना र चुनौतीलाई एउटै मञ्चमा छलफल गराउने उद्देश्यले मेयरहरु सहभागी हुने यो सञ्जाल निर्माण गरिएको हो । फुकुओमा सहरकै प्रस्तावमा सन् १९९४ बाट शुरु भएको यस सञ्जालमा अहिले दक्षिण एशियाली १३ देशमा ३० वटा नगर सदस्य छन् । यस सञ्जाललाई मेयरहरुको आपसी सीप र हितको आदान प्रदान तथा प्रवर्धन गर्ने अन्तरराष्ट्रिय थलोका रुपमा प्रयोग गर्ने गरिएको छ ।
अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेलसहित कार्यक्रममा सहभागी हुन जानुभएका मेयर शाक्य शनिवार स्वदेश फर्कनु हुनेछ ।