आर्थिक र विनियोजन विधेयक स्वीकृत, अन्य विधेयकमाथि छलफल जारी

चौथो बैठकमा १३ वटा कार्यसूची प्रस्तुत

चन्द्रमणि भट्टराई
असार २७

DSC_4963काठमाडौं । बुधबार बसेको काठमाडौं महानगरको नगर सभाले आ. व. २०७५/०७६ का लागि आर्थिक र विनियोजन विधेयक स्वीकृत गरेको छ । छलफलका लागि सभामा प्रस्तुत विधेयकहरु ध्वनी मतका साथ स्वीकृत भएका हुन् । सभामा प्रस्तुत भएको आ. व. २०७५÷०७६ को बजेट तथा कार्यक्रम पनि केही बुँदामा संशोधन प्रस्तावसहित स्वीकृत भएको छ । सभामा वित्त विभागका प्रमुख शिवराज अधिकारीले बजेट तथा कार्यक्रम र राजस्व विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले आर्थिक विधेयकमा प्राप्त भएका सुझाव उपर गरिएका शंशोधन सम्बन्धी व्यवस्था प्रस्तुत गर्नुभएको थियो ।

सभाका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विधेयकमाथि नगर सभा सदस्यहरुले राख्नु भएको जिज्ञासाको समाधान गर्दै, महानगरको समृद्धिलाई अर्जुन दृष्टि बनाएर, जनप्रतिनिधि र कर्मचारी एक भएर काम गर्नु पर्ने अवस्था आएको बताउनु भयो । स्थानीय तह सञ्चालन गर्न आवश्यक पर्ने सबै कानुनी व्यवस्था निर्माण भइसकेका छैनन् । कतिपय अवस्थामा प्रदेश र संघ सरकारले के गर्छन्? के भन्छन् भनेर हेर्नु पर्ने अवस्था पनि छ, मेयर शाक्यले भन्नुभयो — प्रतिकुल अवस्थालाई अनुकुल बनाएर काम गरौं ।

आजको वैठकमा १३ वटा कार्यसूची राखिएका छन् । तीमध्ये आर्थिक र विनियोजन विधेयक २०७५, आ. व. २०७५/०७६ को बार्षिक बजेट नीति तथा कार्यक्रम स्वीकृत भइसकेका छन् भने समाचार तयार पार्दै गर्दा राजस्व विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले राजस्व विधयेक प्रस्तुत गर्दै हुनुहुन्छ । यसपछि प्रस्तुत तथा छलफल हुने कार्य सूचीमा भवन निर्माण मापदण्ड २०७५, शिक्षा विधेयक, विवाद निरुपण कार्यविधि विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, विकास समिति विधेयक रहेका छन् । त्यस्तै आ. व. २०७४/०७५ मा महानगरपालिकाले विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रदान गरेको आर्थिक अनुदान अनुमोदन गर्ने, काठमाडौं महानगरपालिकाका पदाधिकारी तथा सदस्यले प्राप्त गर्ने सुविधाको पुनर्विचार गर्न प्रदेश सरकारमा प्रस्ताव पेश गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ (५) शंशोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने र आ. व. २०७३/०७४ को अन्तिम लेखा परीक्षण प्रतिवेदनका विषयमा सभालाई जानकारी गराउने कार्य सूची छन् ।

यसमा तपाइको मत