यस्तो बन्दैछ, महानगरको केन्द्रीय कार्यालय

तत्कालीन हरिभवन (बागदरबार)को स्वरुपमा नेवारी शैलीलाई संयोजन गरेर परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको प्रतिनिधित्व हुने ढाँचा

चन्द्रमणि भट्टराई
असार २४

Picture35काठमाडौं । काठमाडौं महानगरको केन्द्रीय कार्यालय कस्तो बन्छ? साविकको हरिभवन (बागदरबार) के हुन्छ? अहिले चर्चामा आएका विषयमध्ये एक हो । यस विषयलाई पुरातात्विक सम्पत्तिको रुपमा हेर्ने र मौलिकतासँग आधुनिक ढाँचाको संयोजन स्वीकार गर्ने, दुई पक्षका दृष्टिकोण भेटिएका छन् । भवनको पुननिर्माणका लागि काठमाडौं महानगरपालिकाले नीतिगत व्यवस्था गरिसकेको छ । यो विषय अहिलेको मात्र होइन, २०७२ सालको भूकम्पको कम्पनले भवन जीर्ण भएपछिका हरेक बर्ष, महानगरको बार्षिक कार्यक्रममा पुननिर्माणको विषय समाबेश छ ।

काठमाडौं महानगरको इञ्जिनियर प्रेम बहादुर श्रेष्ठले अहिलेको भवनको ढाँचा तयार पार्नुभएको हो । ढाँचामा मल्लकालीन शैली, तत्कालीन हरिभवन (बागदरबार)को स्वरुपमा नेवारी शैलीलाई संयोजन गरेर परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको प्रतिनिधित्व गर्न खोजिएको छ । यसमा परम्परागत पाटी, ढुङ्गेधारा, चोक आदि निर्माण गरिनेछ । भवनमा अपाङ्गमैत्री शौचालय हुनेछ भने पहुँचयुक्तताका लागि ¥याम्प र पर्याप्त लिफ्ट राखिनेछन् । त्यस्तै भूकम्प, आगलागीजस्ता विपत्तिको सामना गर्न आकस्मिक कक्ष तथा संरचना हुनेछन् । भवनमा आकाशे पानी संकलन विधि जडान हुनेछ भने महत्वपूर्ण स्थानहरुमा सौर्य शक्तिको अधिकतम् उपयोग गरिनेछ । भवनको ढाँचा तयार पार्दा उल्लेखित विशेषताका साथ वातावरणमैत्री बनाउन प्रयास गरिएको छ । भवनका सवै कोठामा सूर्यको पर्याप्त उज्यालो छिर्नेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठ भन्नुुहुन्छ —यो नयाँ शैलीको डिजाइन हो । निर्माण भएपछि नेपालकै नमूना भवन हुनेछ ।

ढाँचामा साविकको भवन मोहडाको पहिलो भागलाई ३ तला, लिच्छवीकालीन शैलीको दोश्रो भागलाई साढे ६ तलामा र आधुनिक शैलीको तेश्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । आधुनिक शैलीको मोहडाबाट हिमालयको दृश्यावलोकन गर्न सकिने, भ्यु टावरका रुपमा विकास गरिने ढाँचामा उल्लेख छ ।

Picture10स्थान विभाजन

३ वटा वैठक हल, क्याविनसहित, न्यायिक समितिको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, प्रमुख र उपप्रमुखका लागि इजलास, १०० जनाक्षमताको कार्यपालिका वैठक कक्ष एउटा र सोही संख्यामा मानिस अट्ने अन्तरराष्ट्रिय सम्मेलन हल, १८० जना क्षमताको नगर सभा बस्ने ठाउँ हुनेछ । त्यस्तै ३, ६०० बर्गफुटमा म्युजियम तथा प्रदर्शनी स्थल, सर्वसाधारणका लागि समेत हुने गरी करीव १२०० बर्गफुटका २ वटा दैनिक प्रदर्शनी र कार्यक्रम गर्ने स्थल हुनेछन् । विभिन्न कार्यक्रम गर्दा १००० जनालाई खानपिन गराउन सकिने व्याङ्क्वेट हलको भित्रै व्यवस्था हुनेछ ।

प्रचलित मापदण्डको परिधिमा रही भूमिगत तलासहित २ लाख बर्गफुटमा निर्माण हुने भवनमा संग्रहालय र पार्किङ् व्यवस्थालाई पनि समेटिएको छ । भूमिगत तल्लामा तत्काल १०० वटा र भविष्यमा २०० वटा गरी जम्मा ३०० गाडी पार्किङ् क्षमता हुनेछ । कर्मचारीहरुका लागि १० जना क्षमताका २ वटा र मेयर÷उपमेयरको कार्य कक्षमा पुग्न ८ व्यक्ति क्षमताका २ वटा लिफ्ट हुनेछन् । टावरसम्म पुग्नका लागि छुट्टै २ वटा लिफ्ट र भ¥याङ् हुनेछन् । १५ तले भवनको माथिल्लो तलामा १०० जना व्यक्ति अट्ने क्षमताको अन्तरराष्ट्रिय स्तरको सम्मेलन कक्ष हुनेछ । कार्यालय प्रयोजन बाहेक अन्य १२ तलाको करीव ४५०० वर्गफुट क्षेत्रफल व्यवसायिक प्रयोजनमा ल्याउन सकिने हुन्छ ।

महानगरको यो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सवै कर्मचारी अट्टाउने छन् । एकै ठाउँमा मेयर मेयर, उपमेयर, इजलास, वोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास, कार्यपालिकाको वैठक कक्ष हुनेछ । यसको टावर ब्लक महानगरको पहिचान दिने आधुनिक र सुविधा सम्पन्न हुनेछ । भवनमा विविध विशेषतायुक्त ४ वटा चोक÷आँगन हुनेछन् । त्यसमध्ये मुख्यचोक र मेयरको जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । मेयर उपमेयर कार्यकारी तथा अति विशिष्ट व्यक्तिहरुका लागि प्रवेश द्वार छुट्टाछुट्टै हुनेछन् ।

Picture19मेयर उपमेयर र कार्यकारीको कार्यकक्ष

मेयर, उपमेयर र कार्यकारी अधिकृतका लागि पर्याप्त खुल्ला भएको कार्य कक्ष निर्माण गरिनेछ । त्यहाँ सचिवालय, व्यक्तिगत र प्रस्तुतीकरणसहितका बैठक कक्ष, सोधपुछ कक्ष, सल्लाहकारको कार्यालय, शौचालयहरु रहनेछन् । ती कक्षमा पुग्न छुट्टै लिफ्टको प्रयोग हुनेछ ।

विभागीय कार्यकक्ष

डिजाइनमा हरेक विभागका लागि सोधपुछ कक्ष, वैठक हल, प्रतिक्षालयसहितको स्थान छुट््याइएको छ । विभागीय प्रमुखका लागि जोडिएको शौचालय हुनेछ भने महाशाखा प्रमुखका लागि छुट्टै कार्यकक्ष हुनेछ । त्यस विभागलाई आवश्यक पर्ने भण्डारण कक्ष पनि साथमै हुनेछ ।

वैठक तथा सभाकक्ष

भवनमा बोर्ड वैठकका लागि १०० जना अट्ने वैठक कक्ष हुनेछ भने १८० व्यक्तिलाई सहभागी गराउन सकिने तालिम कक्ष हुनेछ । विषयगत समितिको वैठक बस्न १५ जना अट्ने ३ वटा वैठक कक्ष हुनेछन् । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतका लागि गुनासो सुन्ने छुट्टाछुट्टै कक्ष हुनेछन् । त्यस्तै वोर्ड सदस्यका सामान राख्ने छुट्टाछुट्टै लकरको व्यवस्था हुनेछ ।

भवन क्षेत्रफलमा

प्रस्तावित भवन १७.५ रोपनी अर्थात् ९३,०९२ स्क्वायर फिट क्षेत्रफलमा निर्माण हुनेछ । त्यसको भुँइ तल्लाले २५,००० बर्गफुट ओगट्ने छ भने योसहित भवनको कुल क्षेत्रफल २,०२,००० बर्ग फुट हुनेछ ।

कक्षहरु क्षेत्रफलमा

ढाँचाबमोजिम प्रमुखको कार्यकक्ष ४०० बर्गफुट क्षेत्रफलको हुनेछ भने उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष २००० बर्गफुटको हुनेछ । अन्य विभागहरु हरेकलाई १८०० बर्गफुट क्षेत्रफल पर्ने गरी कार्यकक्ष विभाजन गरिएको छ ।

Picture7निर्माण अवधि

भवन निर्माण कार्य शुरुभएका दिनले ३० महिनाभित्र सम्पन्न हुने इञ्जिनियर प्रेम बहादुर श्रेष्ठको भनाइ छ । १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण सम्पन्न भएपछि महानगरको केन्द्रबाट प्रदान हुने सवै सेवा एकै ठाउँमा समेटिने छन् ।

विषयको उठान

२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारमा राजस्व विभाग, र सहरी विकास विभागबाहेक काठमाडौं महानगरपालिका कार्यालय राष्ट्रिय सभागृहमा स¥यो ।

सभागृह कार्यालय सञ्चालनकालागि नभइ सार्वजनिक कार्यक्रमका लागि हो, त्यसैले सभागृहबाट कार्यालय सार्नू भनेर निर्देशन प्राप्त भएपछि महानगर बागदरबारसँगैको जोडिएको जेडिए कम्प्लेक्सको पाँचौ तलाका केही भाग र छैंटौ तलाका केही भाग भाडामा लिएर स¥यो । २०७४ बैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित मेयर र उपमेयरले त्यही भाडाको कार्यालयमा पदवहाली गर्नुभएको थियो भने नगरकार्यपालिकाको पहिलो बैठक पनि त्यही कम्प्लेक्सबाट सञ्चालन भएको थियो ।

Picture6अध्ययन प्रतिवेदनको कुरा

काठमाडौं महानगरपालिका बसेको दरबार पुननिर्माणका विषयमा विषयगत निकायवीच मत अन्तर भएपछि भवनको जोखिम मुल्याङ्कन र सवलीकरण सम्भावनाका विषयमा नियुक्त गरिएको परामर्शदाताले महानगरमा पेश गरेको प्रतिवेदनमा हालको बागदरबार वि. सं. १९९२ सालमा पुननिर्माण भएको विषय उल्लेख गरेको छ । सोही प्रतिवेदन अनुसार पुरानो बागदरबार र हालको वागदरबारको मोहडा, दरबार रहेको स्थान नै फरक रहेको देखाएको छ ।

सवलीकरण कार्य पुन निर्माण खर्चको ३० प्रतिशतसम्म हुनु पर्ने Seismic Vulnerability Evaluation Guideline for Private and Public Buildings को ३.३ को व्यवस्थासँग बागदरबार सवलीकरणको सवाल दाँजेर हेर्दा परामर्शदाताले दिएको विवरण अनुसार ६ प्रतिशत अर्थात ३६ प्रतिशत खर्च लाग्ने देखिन्छ । अर्थात् सवलीकरण गर्दा पनि प्रचलित व्यवस्थाभन्दा ६ प्रतिशत बढी खर्च गर्नु पर्ने आवश्यकता प्रतिवेदनले औल्याएको छ ।

बागदरबारको विगत

भीमसेन थापाका बुबा अमरसिंह थापाले बनाएको घर हनुमान दरबार नजिक भएकोले तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १२० रोपनी जग्गा ओगटेर निर्माण गरेको दरबारमा पाटेबाघ पालिएको थियो । यसैकारण दरबारलाई बाघदरबार भन्न थालियो । बाघदरबार अपभ्रंस भएर बागदरबार भनिएको हो ।

वि. सं. १८९४ सालमा भीमसेन थापाको पतन भएपछि यो दरबारलाई सरकारीकरण गरिएको थियो ।वि. सं. १९०१ मा भीमसेन थापाका भतिज माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः थापाहरुलाई नै फिर्ता गरिएको थियो । त्यसको १ बर्षपछि वि. सं. १९०२ सालमातत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै्र भाञ्जा जङ्गबहादुरबाट भएपछि दरबारलाई पुन सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तम शम्शेर जवराको भनाइ छ ।

Picture20“वि. सं. १९०७ सालमा तत्कालीन राजा सुरेन्द्र विक्रमको हत्या गर्ने योजना बनाएको आरोप लागेका उनका माहिला साहेव उपेन्द्रविक्रमलाई भारतको इलाहाबादमा नगरबन्दपछि काठमाडौं ल्याएपछि दाजुसँगै हनुमान ढोकामा राख्न नहुने जनाउँदै यसै बागदरबारमा राखिएको थियो ।”इतिहासकार जवरा बताउनुहुन्छ ।

उपेन्द्र विक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले भोग गरे । त्यस समयमा भूकम्प र संरचना जीर्ण भएकोले भवन पुननिर्माण गरिउको थियो । यसरी पुननिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि दरबार जुद्ध शम्शेरका छोरी ज्वाई हरि शम्शेरको हातमा पुग्यो । हरि शम्शेरले त्यस अघि बस्दै आएका मोहन विक्रमका सौतेला भाइ चन्द्रविक्रम शाहलाई कालीमाटीमा टहरो बनाउन लगाएर त्यतै सारेका थिए ।

यसै तथ्यलाई आधार मानेर काठमाडों महानगरपालिकाले विद्यमान भवनलाई हरि भवन भनेको छ । बाग दरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इटामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इटा कसरी पर्खालमा हुन्थे, सम्पदा संरक्षणमा काम गर्नेकालागि सवाल हो ।

हरि शम्शेरका छोरा छोरी धेरै भएकाले उनीहरुले त्यो दरबार तत्कालीन श्री ५ को सरकारलाई विक्री गरेका थिए भने बाँकी सम्पत्ति अन्यत्रै विक्री गरिएको थियो ।

वि. सं. २००७ सालपछि सरकारी स्वामित्वमा रहेको यस दरबारमा काठमाडौं महानगरपालिकाले भोगाधिकार पाउनु अघि अर्थ मन्त्रालय बसेको थियो । दरबारमा काठमाडौं महानगरपालिकालाई वि. सं. २०६० पौष २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो दिएको थियो भने त्यसै बर्षको चैत्र २७ गतेदेखि महानगरका कामकाज त्यसै दरबारबाट नियमित शुरु गरिएको थियो ।

 

यसमा तपाइको मत