निष्क्रिय जीवन र तनाव, नसर्ने रोगको बीउ

नेपालमा बार्षिक १० हजार क्यान्सर रोगका बिरामी थपिँदै, महिला धुम्रपान प्रयोगकर्तातर्फ दक्षिण एशियाली मुलुकमध्ये नेपालमा पहिलो

चन्द्रमणि भट्टराई
असार २२

DSC_4378काठमाडौं । कुल मानव मृत्युको ६० प्रतिशत कारण जीवनशैलीमा आधारित नसर्ने रोग भएकोले यसप्रति व्यक्ति तथा समुदाय समयमै सचेत रहनु पर्ने खाँचो देखिएको छ । यसबाट एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कोतिर उपचारमा आर्थिक भार पनि थपिएको छ । चाहे व्यक्ति, परिवारका लागि होस् या राज्यका लागि । यसैकारण अपाङ्गताको जोखिम पनि बढने क्रममा छन् । यी विषयहरु सरकारले अघि सारेको “मेरो बर्षः म स्वस्थ्य, मेरो देश स्वस्थ्य” अभियानका क्रममा चर्चामा आउने गरेका छन् । तर यसबाट व्यवहार परिवर्तनमा कति सुधार आयो? त्यसको नतिजाका लागि मुल्याङ्कन प्रणाली बलियो देखिँदैन ।

यी विषयहरुको नियमित चर्चा बिहीबार रिपोर्टस् क्लवमा पनि चल्यो । सरकारको स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, हेल्दी लाइफ फाउन्डेसन र रिपोर्टस् क्लवको आयोजनामा सम्पन्न मेरो बर्ष अभियान सम्बन्धि पत्रकार सम्मेलनमा मानवीय आचरण र नसर्ने खालका रोगका बिषयमा कुरा गरिएको हो ।

नेपालमा बर्षेनी १० हजार क्यान्सर रोगका बिरामी थपिएका छन् । मोटोपना बढ्दै गएको छ, कुपोषण घट्दै गएको छ । वरिष्ट जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुङ्गाना भन्नुहुन्छ — कुपोषण घट्नु राम्रो हो तर मोटोपना बढ्नु राम्रो होइन । १८ प्रतिशत नेपालीमा मोटोपना छ त्यसका ४ प्रतिशतमा अति मोटोपना छ । यो नसर्ने रोग उत्पन्न हुने अवस्था हो । यहाँका अनुसार नेपालको एक तिहाइ जनसंख्यामा उच्च रक्तचापको समस्या छ भने, १५ प्रतिशत मधुमेहको समस्यामा छन् ।

नेपालीमा यसरी नसर्ने खालका समस्या बढ्नुमा जीन पद्धति एउटा कारण हो नै यसबाहेक विकास व्यवस्थापनका पक्ष पनि जोडिएका छन् । जीवन शैलीमा धुम्रपान तथा मद्यमान गर्ने बानी, ताजा सागसव्जी र फलफुलको सट्टा बासी खानेकुरा, भण्डारण गरिएका खानेकुरा, फास्टफुड र जङ्क फुडप्रतिको आकर्षणतथा व्यायाम नगर्ने, एकै ठाउँमा बसेर सवै सुविधा प्रयोग गर्न खोज्ने आचरण पर्दछन् । विकास निर्माण तथा सहरी सुविधाका लागि प्रयोग गरिने बस्तु तथा सामाग्री पनि नसर्ने खालका रोगका कारण हुन् । यसमा शिशाजन्य रसायनको प्रयोग, प्रदुषण, सडक पूर्वाधार, वातावरणीय सन्तुलन तथा व्यवस्थापन जस्ता पक्ष पर्दछन् ।

नसर्ने खालका समस्या सहरी समस्या पनि हुन् । काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्नहुन्छ — स्वस्थ्य सहर कार्यक्रम अन्तर्गत १८ महिनामा महानगर क्षेत्रका सार्वजनिक स्थललाई धुम्रपान निषेधित क्षेत्र बनाउन काम भइहरको छ । यसका अतिरिक्त — स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हक सुरक्षा गर्न — आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने, ठूला स्वास्थ्य समस्या आउन नदिने उपाय अवलम्बन गर्ने काममा महानगर प्राथमिकतासाथ अघि बढिरहेको छ ।

विपन्न बर्गलक्षित सरकारका कार्यक्रमअन्तर्गत नसर्ने तर उपचार गर्न महङ्गो हुने ७ प्रकारका रोगको उपचार गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले शिफारिस दिने गरेको छ तर यो निदानात्मक र नियन्त्रणात्मक विधि होइन, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख पर्शुराम श्रेष्ठ भन्नुहुन्छ — बाटोमै रोक्न सकिने रोगको शिकार हुनु कुनै पनि कोणबाट राम्रो होइन । व्यक्तिको सचेतनाले गम्भीर प्रकृतिका समस्या नियन्त्रण गर्न सकिन्छ । स्वस्थ्य समाज निर्माण गर्ने उपयुक्त विकल्प यही हो ।

नसर्ने खालका यस्ता रोग नियन्त्रण थर्न हरेक नागरिकलाई सहभागी गराउने उद्देश्यले २०७४ सालको शुभारम्भदेखि अभियान शुरु गरेको हो । स्वास्थय सेवामा सरकारको दायित्वमा नागरिक सचेतनाको अन्तरसम्वन्ध विकास गर्न अभियान शुरु भएको हो ।

 

यसमा तपाइको मत