टोखा नगरलाई बालमैत्री उद्यान निर्माण गर्न महानगरको १ करोड रुपैयाँ सहयोग

करीव ४ करोड लागतमा निर्माण हुने उद्यानको ५० प्रतिशत लगानी महानगरले व्यहोर्ने सहमति

चन्द्रमणि भट्टराई
असार २०

DSC_4216काठमाडौं । नगर—नगर साझेदारि कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाले छिमेकी टोखा नगरपालिकालाई बालमैत्री उद्यान निर्माण गर्न १ करोड रुपैयाँको चेक उपलब्ध गराएको छ । बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले टोखा नगरका प्रमुख प्रकाश अधिकारीलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो । टोखा नगरको पूर्वाधार निर्माणअन्तर्गत बालमैत्री पार्क निर्माणका लागि प्रस्ताव प्राप्त भएपछि महानगरले आ. व. २०७४÷०७५ मा बिनियोजन भएको रकमबाट यो रकम उपलब्ध गराएको हो ।

दुई नगरबीच सम्पन्न सम्झौताका आधारमा, यो रकम टोखा नगरपालिका वडा नं. १ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बाल उद्यान निर्माणमा खर्च हुनेछ । ३ बर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता गरेर रकम हस्तान्तरण गरिएको हो । टोखा नगरले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करीव २५ करोडको लागत अनुमान गरेर गुरुयोजना तयार पारेको छ ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — महानगरसँग खर्च गर्ने ठाउँ नभएर, रकम वितरण गरिएको होइन । महानगरसँग खर्च गर्नै पर्ने धेरै ठाउँ छन् । ती ठाउँको विकास हाम्रो प्राथमिक जिम्मेवारी हो । यससँगै उपत्यकाको समृद्धिका लागि अरु नगर सँगसँगै विकास गर्ने लक्ष्यअनुसार स्वीकृत कार्यक्रम अन्तर्गत टोखा नगरलाई सहयोग गरेका हौं । यस प्रकारको सहयोग प्रस्तावका आधारमा अन्य नगरलाई पनि दिइने प्रमुख शाक्यको भनाइ थियो ।

कार्यक्रममा बोल्दै, टोखा नगरका प्रमुख प्रकाश अधिकारीले, असल र भरपर्दो छिमेकी नगरको साथबाट आफ्नो नगरको समृद्धिमा काम गर्ने बताउनुभयो । हामी आकारमा सानो छौं, तर विकासका चाहना समान छन् । राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा काठमाडौं महानगरको नाम आउँछ तर अन्य नगरको नाम कमै आउँछ । त्यसैले छिमेकी नगरलाई काठमाडौं महानगरले विकासमा सँगसँगै हिँडाउनु पर्छ, प्रमुख अधिकारीको अपेक्षा थियो ।

DSC_4239कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — हरेक नगरलाई आर्थिक सहयोग दिएर बिकासमा साथै लैजान महानगरले रकम विनियोजन गरेको जानकारी गराउनुभएको थियो । एक्लै राम्रो देखिएर हुँदैन, सँगै हुने पनि राम्रा देखिनु पर्छ, त्यसैले महानगर उपत्यकाको एकीकृत बिकासका पक्षमा छ, उहाँको भनाइ थियो ।

छाडा चौपाया व्यवस्थापन गर्न अर्को सम्झौता

महानगरले सडकमा छोडिएका चौपाया तथा सामुदायिक कुकुर व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्न सदुगुरु सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरसँग सम्झौता गरेको छ । महानगरका सहसचिव राजेश्वर ज्ञवाली र मन्दिरकातर्फबाट अध्यक्ष सुप्रभात बस्नेतले हस्ताक्षर गर्नुभएको सम्झौता १ बर्षका लागि हो । यस अवधिमा दोश्रो पक्ष (मन्त्रादेवी मन्दिर) ले सडकमा भेटिएका वेवारिसे गाई, गोरु, वाच्छा—बाच्छी, साँढे, कुकुरजस्ता चौपायाको उद्धार तथा औषधि उपचारसमेत गर्नु पर्नेछ ।

सम्झौताबमोजिम कामको थालनी वडा नं. २ लाजिम्पाट क्षेत्रबाट हुनेछ । यस क्रममा भेटिएका चौपायाको ट््यागिङ् गर्ने, कम्प्युटरकृत अभिलेख तयार पार्ने काम हुनेछ । त्यस्तै अन्यसँगको सहकार्यमा पशु आश्रय स्थल सञ्चालन गर्न सकिने सम्झौतामा उल्लेख छ ।

यस् सवै कामका लागि महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने छ । यो रकम उपलब्ध गराउँदा, कार्य प्रगतिका आधारमा त्रैमासिक रुपमा दिइनेछ ।

 

यसमा तपाइको मत