चीनको डजाउ नगर र नेपालको काठमाडौं महानगरवीच शिक्षा र स्वास्थ्य सहकार्य बलियो

डजाउ नगरकी उपप्रमुखको नेतृत्वमा आएको प्रतिनिधि मण्डल र महानगरका अधिकारीवीच बैठक सम्पन्न

चन्द्रमणि भट्टराई
असार २०

काठमाडौं । नेपाल र चीनबीच स्वास्थ्य र शिक्षाका क्षेत्रमा अनुभव तथा सिकाइ आदान प्रदानको बलियो सम्भावना देखिएको छ । वुधबार काठमाडौं महानगरमा चीनको सिचुआन प्रदेशमा पर्ने डजाउ नगरकी उपप्रमुख हु जीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग भएको महानगरका स्वास्थ्य र शिक्षा विभागका अधिकारीको वैठकले यस प्रकारको सम्भावना देखाएको हो ।

DSC_4080वैठकमा भ्रमण दलकी प्रमुख हु जीले जिज्ञासा राख्दै भन्नुभयो — काठमाडौंमा आधारभूत स्वास्थ्य सेवा कसरी वितरण भइरहेको छ? उपचार विधिहरु के कस्ता छन्? संरचना र उपकरण कस्ता छन्? जनशक्ति व्यवस्थापन कसरी हुन्छ? यसका विषयमा जानकारी पाएपछि दुई नगरवीच आपसी सम्भावनाका आधार तयार पार्न सकिन्छ ।

वैठकमा महानगरका वरिष्ट जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले — महानगरले स्वास्थ्य क्लिनिकबाट सेवा दिइरहेको जानकारी दिँदै, विशेषज्ञ सेवाका लागि निजी र सरकारी ठूला अस्पतालमा जानु पर्ने अवस्था रहेको देखाउनु भयो भने जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले — महानगरको सञ्चालन योजनामा रहेको अस्पताल निर्माण, व्यवस्थापनका सवालमा सहकार्य हुन सक्ने कुराको संकेत गर्नुभयो । काठमाडौंका विद्यालयहरुमा चिनियाँ भाषा शिक्षणका लागि ३० जनाभन्दा बढी स्वयम्सेवक खटिएको आफ्नो जानकारीमा रहेको बताउँदै शिक्षा विभागका प्रमुख प्रल्हाद अर्यालले — यसको औपचारिक व्यवस्थापनका लागि आफूले सोच बनाएको जनाउनुभयो ।

बैठकमा विद्यालय, माध्यमिक तथा उच्च शिक्षाको व्यवस्थापन, मेडिकल शिक्षा लिन पाउने द्विपक्षीय अवसर, आधुनिक, परम्परागत तथा होमियोप्याथिक चिकित्साका आपसी सिकाइ, सम्पदा तथा पर्यटन प्रवर्धनका आपसी हितका विषयमा कुराकानी भएको थियो । त्यस्तै खाद्य र औषधि सुरक्षाको विषयले पनि छलफलमा मुख्य स्थान पाएको थियो । 

बैठकको समन्वय महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले गरेको थियो ।

 

यसमा तपाइको मत