वडामा आएका नागरिक गुनासा तत्काल सुनुवाइ हुन्छन्, समस्या लिएर आउनोस् — मेयर शाक्य

वडा नंं ३१ महानगर विशेष भत्ता लिएर टोलटोलमा

चन्द्रमणि भट्टराईDSC_3729
असार १७

काठमाडौं । महानगरको वडा नंं ३१ जेष्ठ नागरिकका लागि महानगर विशेष भत्ता लिएर टोल टोलमा गइरहेको छ । यसै क्रममा आइतबार विहान शंखमुल क्षेत्रका भत्ता वितरण तथा स्वास्थ्य परीक्षण सम्पन्न गरियो । यसका लागि पुग्नु भएका महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भत्ता वितरण गर्दै, जेष्ठ नागरिकका समस्या तत्काल सुनुवाई गर्ने बताउनुभयो । पाको उमेरका व्यक्तिलाई जीवन यापन गर्न असजिलो नहोस् भन्ने हामीले चाहेका छौं । यसका लागि खुल्ला ठाउँमा बस्न मिल्ने, घुम्न र दुःख सुखका कुरा गर्ने ठाउँको निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखेका छौं । मेयर शाक्यले भन्नुभयो — तपाईहरु आफ्ना लागि यस्तो भइ दिए हुन्थ्यो भन्ने लाग्छ भने, वडामा आएर भन्नोस् हामी तपाईको माग तत्काल सम्बोधन गर्ने प्रयास गर्छौ ।

सोही अवसरमा बोल्दै वडा नंं ३१ का वडाध्यक्ष नारायण भण्डारीले — आगामी बर्षमा जेष्ठ नागरिकका लागि १ रोपी भन्दा बढी क्षेत्रफलमा दिवा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सुनाउनुभयो । घरमा बसेर दिक्क हुनुको साटो, दिवा सेवा केन््रमा आएर आफ्नै उमेरका मानिसहरुसँग कुराकानी गर्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक काममा सहभागी हुने वातावरण बनाउँछौं, वडाध्यक्ष भण्डारीको भनाइ थियो ।

यस वडामा ७५ बर्ष उमेर पूरा हुनु भएका १६८ जना महिला र ८० बर्ष उमेर पूरा हुनु भएका ६५ जना पुरुष हुनुहुन्छ । यीमध्ये अहिलेसम्ममा ७४ जना महिला र ३५ जना पुरुषले महानगर विशेष भत्ता लिइसक्नु भएको छ । बाँकीलाई क्रमश वितरण गरिनेछ, वडासचिव सुरेश साहु खलले जानकारी दिनुभयो ।

वडामा नियमित सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या ९७८ छ । जसमा दलित पुरुष १६ जना, दलित महिला ३८ जना हुनुहुन्छ । त्यसैगरी २ जना अविवाहितसहित ४१० जना एकल महिला, ५ पुरुष र ९ महिलासहित १४ जना आंशिक अपाङ्ग हुनुहुन्छ । वडामा २६ जना पूर्ण अपाङ्गले नियमित सामाजिक सुरक्षा भत्तावापत्को रकम लिइरहनु भएको छ । यसमा १० जना महिला र १६ जना पुरुष हुनुहुन्छ ।

नियमित सामाजिक सुरक्षा भत्तातर्फ वडाले पहिलो चौमासिकमा ८८ लाख २१ हजार ५ सय रुपैयाँ निकासा गरेकोमा ८५ लाख ५२ हजार २०० रुपैयाँ वितरण भयो भने दोश्रो चौमासिकमा ८७ लाख ५२ हजार ८०० रुपैयाँ निकासा भएको थियो भने तेश्रो चौमासिकका लागि करीव ९८ लाख निकासा भएको छ ।

यसमा तपाइको मत