महानगरभित्रका १४ वटा सामुदायिक विद्यालयमा सरसफाइको अवस्थामा तत्काल सुधार गर्नु पर्ने ः अध्ययन

९४ मध्ये ९ वटाले पाए “ए” ग्रेड, ३६ ले “बि प्लस” र ३० ले “बि”

चन्द्रमणि भट्टराई
असार १३

DSC_2984काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुको वातावरणीय अवस्था सुधार गर्नु पर्ने देखिएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले, शिक्षा विभाग र जाइका स्वयमसेवकसँगको सहकार्यमा गरेको अध्ययन सम्बन्धि प्रतिवेदन मंगलबार सार्वजनिक भएसँगै यस्तो अवस्था देखिएको हो । अध्ययन जाइका स्वयम्सेवक फुमिका हिनोको अगुवाईमा सम्पन्न भएको थियो । अध्ययनका क्रममा हरेक बिद्यालयलाई ४० अङ्कमा मुल्याङ्कन गरिएको थियो । यसमा फोहोर व्यवस्थापनलाई १०, सरसफाइलाई ६ अङ्क, हरियालीलाई ८ अङ्क, पानीको उपलब्धता र स्वच्छतालाई क्रमश ८/८ अङ्कमा दिइएको थियो ।

यसरी गरिएको अध्ययनमा महानगरभित्र रहेका ९४ वटा सामुदायिक बिद्यालयमध्ये ९ वटाले पाए “ए” ग्रेड पाएका छन् भने ३६ वटाले “बि प्लस” र ३० ले “बि” ग्रेड पाएका छन् । ४० मा बिद्यालयहरुले पाएको औसत अङ्क २४.१ छ । यसमध्ये, वडा नंं ४ मा रहेको धुम्रबाराह माध्यमिक बिद्यालयले सवैभन्दा उच्च ३६ अङ्क प्राप्त गरेको छ भने सवैभन्दा कम वडा नं. १२ को राष्ट्रिय आधारभूत विद्यालयले ११ अङ्क पाएको छ ।

“ए” ग्रेड प्राप्त गर्ने ९ वटा बिद्यालयमा सरसफाइ, स्वच्छता र पानीको सुविधा उपयुक्त छ भने फोहोर व्यवस्थापन र हरियाली व्यवस्थापनमा काम गर्न आवश्यक छ । त्यस्तै “बि प्लस” ग्रेड प्राप्त गर्ने ३६ वटा विद्यालयमा हरियालीको अवस्था कमजोर र फोहोर व्यवस्थापनमा सुधार गर्नु पर्ने अवस्था छ । “बि” ग्रेड प्राप्त गर्ने बिद्यालयमा पानीको आंशिक उपलब्धता छ । हरियालीमा ती बिद्यालय कमजोर छन् । ती विद्यालयहरुले फोहोर व्यवस्थापन र सरसफाइमा सुधार गर्नु पर्ने अवस्था अध्ययनले खाँचो देखाएको छ ।

“सि” ग्रेडमा पर्ने १४ वटा विद्यालयमा पानी उपलब्धताको अवस्था कमजोर छ । हरियालीका लागि कुनै काम नै भएको छैन । ती विद्यालयहरुले फोहोर व्यवस्थापन, सरसफाइ र स्वच्छतामा सुधार गर्नुपर्छ । अध्ययनमा “डि” ग्रेडको प्रवन्ध थियो तर यस ग्रेडमा कुनै पनि बिद्यालय परेनन् ।

अहिले भएको अध्ययन वैज्ञानिक होइन तर विद्यालयमा उपलब्ध भौतिक सुविधा, सरसफाइ प्रतिको सचेतना, शिक्षक र विद्यार्थीको व्यवहारजस्ता पक्ष हेरेर विद्यालयको अवस्थाको क्रम निर्धारण गरिएको हो । यसका लागि अध्ययन टोली श्रोत व्यक्तिका साथमा विद्यालयमा पुगेर स्थलगत अवलोकन गरेको थियो । त्यस क्रममा फोहोर व्यवस्थापनमा डस्विनको व्यवस्था, चक्लेटजस्ता साना प्लाष्टिकजन्य खोलहरुको व्यवस्था, फोहोरको नियमित संकलन, गल्ने र नगल्ने फोहोरको वर्गीकरण, फोहोरको पुनःप्रयोगमा विद्यालयले गरेका काम हेरिएको थियो । त्यस्तै सरसफाइमा कक्षा कोठाको सफाइ, सरसफाइ गर्ने औजार उपकरणको उपलब्धता, तिनीहरु भण्डारण गर्ने कक्षको व्यवस्था, विद्यार्थीहरुको विद्यालयभित्र र बाहिर सरसफाइप्रतिको व्यवहार अध्ययन हेरिएको थियो । स्वच्छतामा भने शौचालयको अवस्था र उपलब्धता, हात धुने बानी र यसप्रतिको सिकाइ र हात धुन सावनुको उपलब्धता जस्ता शीर्षकमा अङ्क प्रदान गरिएको थियो । यसरी अङ्क दिँदा, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग गरिएको प्रश्न र त्यसबाट प्राप्त भएको उत्तरलाई समेत आधार बनाइएको थियो ।

पानीको सुविधा अन्तर्गत, स्वच्छ पिउने पानीको उपलब्धता, आकाशे पानी व्यवस्थापन, ढल निकास, आकाशे तथा सतही पानीको व्यवस्थापन जस्ता पक्षमा र हरियालीतर्फ विरुवाको अवस्था, वृद्धि, तरकारी वा अन्य वाली उत्पादन, जैविक फोहोर व्यवस्थापन जस्ता पक्ष हेरिएको थियो ।

महानगरका ९४ वटा सामुदायिक विद्यालय ११ वटा श्रोत केन्द्रमार्फत व्यवस्थापन हुँदै आएका छन् ।

DSC_3022अध्ययनमाथि अधिकारीको प्रतिक्रिया

काठमाडौं महानगरले समग्र वातावरण सुधारमा काम गरिरहेको छ । हरेक क्षणमा फोहोर उत्पादन भइरहने तर व्यवस्थापनमा कम व्यक्ति मात्र जिम्मेवार हुने भएपछि सहरमा वातावरणीय सुधारमा चुनौतीको सामना गर्नु परिरहेको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ — फोहोर व्यवस्थापनमा नागरिक जिम्मेवारीको सन्देश विद्यालयबाट घरसम्म पु¥याउनु पर्छ । अब सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वाश बढ्न जरुरी छ । बिद्यार्थीको आचरण, शैक्षिक परिणाम हेरेर उहाँहरुलाई सन्तुष्ट बनाउने काम गर्नोस् — प्रमुख शाक्यले विद्यालयका प्रधानाध्यापकहरुसँग आग्रह गर्नुभयो ।

उन्नत जीवनका लागि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा जरुरी छ । यसका लागि सामुदायिक शिक्षामा काम गर्ने अधिकारी आफैं विश्वस्त हुनु पर्छ । आफ्ना नानी निजी विद्यालयमा पढाउने र सामुदायिक बिद्यालयको गुणस्तरको कुरा गर्ने अधिकारीको सोचमा रुपान्तरण हुनुपर्छ — महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ छ । शैक्षिक गुणस्तरको समग्रतामा वातावरणीय पक्ष समेटिन्छ । त्यसैले सामुदायिक विद्यालयको कुरा गर्दा, एकीकृत र सवै पक्ष समेटिने गरी कुरा गरौं, उहाँको भनाइ थियो ।

विद्यालयमा विद्यार्थीहरु आकर्षित हुनुपर्छ । त्यहाँको वातावरण उनीहरुलाई राम्रो लाग्नु पर्छ । यसले बालबालिकामा पढ्ने रुची बढाउँछ । त्यसैले, विद्यालयको समग्र वातावरणको कुरा गर्नुपर्छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला भन्नुहुन्छ — पार्क भएको, हरियालीले सजिएको विद्यालय र सजावट गरिएको कक्षा कोठाको प्रबन्धभित्र वातावरणीय र शैक्षिक सुधारका सवाल अट्टाउँछन् । अव सामुदायिक विद्यालयको अन्तर पक्ष र वहु आयामभित्रका सन्दर्भमा काम गरौं, प्रमुख प्रशासकीय अधिकृत कोइरालाको भनाइ थियो ।

शिक्षा व्यवस्थापनमा अनेक चुनैती छन्, ती चुनौतीलाई समन्वया गरेर मात्र समाधान गर्न सपकन्छ । महानगरको शिक्षा विभागका प्रमुख प्रल्हाद अर्याल भन्नुहुन्छ — प्रतिस्पर्धी शिक्षाका लागि काम थालनी भएका छन्, परिणाम आउन केही समय कुर्नुपर्छ । महानगरका सामुदायिक विद्यालयको स्तर थाहा भए पछि वातावरणीय सुधारका काम कहाँबाट थालनी गर्ने भन्ने आधार तयार भएको छ, अव विद्यालयबाट समुदायमा खवर पुग्ने खालका कार्यक्रम सञ्चालन गर्छौ । अध्ययनको महत्व र यसले देखाएका आवश्यकता पूरा गराउने विषयमा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको प्रतिक्रिया छ ।

 

यसमा तपाइको मत