वडाको दिगो विकासका लागि सहभागितामूलक विकासमा जोड

वडा नं. १७ बाट चालु बर्षमा १ करोड ४९ लाख ९१ हजार ९ सय ५१ रुपैयाँ खर्च गरेर ४० वटा योजना सम्पन्न

चन्द्रमणि भट्टराई
असार १०

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले चालु आर्थिक बर्ष (०७४÷०७५) मा पूर्वाधार विकास तथा सुधारतर्फ १ करोड ४९ लाख ९१ हजार ९ सय ५१ रुपैयाँ खर्च गरेको छ । वडाले शनिवार आयोजना गरेको नागरिक सुनुवाइ, अभिनन्दन तथा राजस्व सम्बन्धी जनचेतनामूलक कार्यक्रममा यस सम्बन्धि जानकारी दिइएको हो । यसरी सम्पन्न गरिएका काममा ह्युम पाइप जडान, ढल निर्माण, ब्लक छपाइ, मंगल निर्माण तथा सफाइ, सडक बत्ती जडान, पेटी निर्माण, रिटेनिङ वाल निर्माण लगायत छन् ।

सोही अवसरमा आर्थिक वर्ष २०७५÷७६ का लागि विभिन्न ४५ शीर्षकमा योजना सार्वजनिक गरियो । वडाको शान्ति सुरक्षाका लागि नगरप्रहरी परिचाल, उपभोक्ता समूहको सहभागितामा सडक, गल्ली तथा चोकहरुमा ढुङ्गा छाप्ने, इट्टा छाप्ने, हरियाली प्रवर्धन गर्ने लगायतका काम वडाको प्राथमिकतामा छन् । त्यस्तै सिसिटिभी क्यामरा जडान गर्ने, विपद् व्यवस्थापनका लागि समुदाय परिचालन, स्थानीय भाषा, लिपीको संरक्षण, परम्परागत जात्रा पर्व सञ्चालन, सहरी स्वास्थ्य सेवा प्रवर्धन वडाका अन्य प्राथमिक काम हुन् ।

वडाले सम्पन्न गरेका कामबाट नागरिक जीवनमा सकारात्मक सन्देश प्रवाह भएको अपेक्षा गर्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्त गर्न सहभागितामूलक विकास पद्धतिलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । विकासका नविनतम् प्रविधिको उपयोग र प्राचीन सीप, शैली, अवस्था र व्यवस्थाको निरन्तरता संयोजनको खाँचो देखाउँदै उपप्रमुख खड्गी श्रेष्ठ भन्नुहुन्छ — अन्य सहर र काठमाडौं सहर व्यवस्थापनका वीचमा धेरै अन्तर रहेकोले, अरुलाई हेरेर होइन काठमाडौंको विशेषता हेरेर काम गर्नुपर्छ ।

महानगरको वडा नं. १७ भित्र अति सुगम र अति दुर्गम ठाउँ छन् । सामाजिक आर्थिक व्यवस्था पनि फरक फरक छ । त्यसैले कार्यक्रम तथा योजना निर्माण गर्दा हरेक वर्ग, समुदाय र क्षेत्रको अनुहार हेरेर आगामी बर्षका कार्यक्रम तर्जुमा गरिएको वडा अध्यक्ष नविन मानन्धरको भनाइ छ । सामाजिक व्यवस्था मिलाउन लगानी बढाउन जरुरी छ । त्यसमा वडाको दृष्टि छ, वडाध्यक्षको भनाइ छ ।

वडाका पूर्व जनप्रतिनिधि, ७७ वर्षमाथिका ज्येष्ठ नागरिक, खेलाडी, सामाजिक तथा खेलकुद क्षेत्रमा सम्लग्न स्थानीय संस्थाहरुलाई सम्मानित गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले वडाको विशेषता कायम गर्ने र भित्री वडा र वाहिरी वडाको सिमानामा रहेकोले (भित्री र वाहिरी सहर) दुवै चरित्रको व्यवहार गर्नु पर्ने भएकोले वडाको यतातर्फ ध्यान जानुपर्ने सुझाव दिएका थिए । सोही अवसरमा स्थानीय सामाजिक संस्थालाई विपद् व्यवस्थापनका लागि एक÷एक थान गरी ९ थान फायर इष्टिङ्ग्विसर मेसिन प्रदान गरिएको थियो । भने १५० जना विपन्नलाई प्रति परिवार एउटा झुल र प्रति बालबालिकालाई एउटा व्याग वितरण गरिएको थियो ।

यस प्रकारको कार्यक्रमबाट वडाबासीले सरकार ढोकामा आएको महसुस गर्ने जनप्रतिनिधिहरुले विश्वाश लिएका छन् ।

 

यसमा तपाइको मत