आर्थिक उन्नति र शिक्षाबाट महिला हिंसा घटाउन सकिन्छ — उपप्रमुख खड्गी श्रेष्ठ

आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

काठमाडौं । आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रिय सभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाहरुको सशक्तिकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने उल्लेख गर्नुभयो । राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको उल्लेख गर्दै खड्गी श्रेष्ठले, हिंसामा महिला पुरुष कोही पनि पर्नु नहुने बताउँदै अहिलेसम्म पुरुषको दाँजोमा बढी महिलाहरु हिंसामा परेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार हिंसाका घटना फरक हुने र यसमा पुरुषहरु पनि पीडित भएको हुन सक्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, तथ्यलाई हेरेर काठमाडौंलाई उपयुक्त हुने कार्यक्रम सञ्चालन महानगरको प्राथमिकतामा पर्नेछन् ।

सामाजिक वा निजी जीवनमा लैङ्गिकताका आधारमा हिंसा हुने गरेका छन् । यसमा पुरुषको संख्या पनि उल्लेखनीय छ । कार्यक्रममा सामाजिक विकास समितिका सदस्य एवं वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो, उहादरणीय कामको पनि चर्चा गरौँ । उहाँले आफ्नै घरको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘मेरी आमा (सासु) ले मिर्गौला दिएर मेरी श्रीमति (बुहारी) लाई जीवन दिनुभएको छ । यसबेला राम्रा र असल अभ्यासको चर्चा गर्ने र कुरीति वा नराम्रा कामलाई सुधार गर्नतिर लाग्नुपर्छ ।’

महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले भन्नुभयो, कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ । सबै मिलेर नियन्त्रण गर्नुपर्छ ।

अन्तरक्रियामा अधिवक्ता मीरा ढुङ्गानाले ‘नेपालमा महिला अधिकार र कार्यान्वयनको अवस्था’ विषयमा र मानव अधिकारकर्मी भोजराज तिमिल्सिनाले ‘लैङ्गिक हिँसा विरुद्ध अभियानको शुरुवात र यसको औचित्य’ र ‘महिलामाथि हुने विभिन्न खालका हिँसा र कानुनी प्रावधान’ गरी २ वटा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महिलाहरुको व्यक्तिगत र पारिवारिक अवस्थामा आएको परिवर्तनमा राजनीतिक तथा शासकीय अभ्यास र व्यवहारमा उहाँहरुको प्रस्तुति केन्द्रीत थियो ।  केही राम्रा कामको थालनी भएको छ । केही हुने चरणमा छन् । त्यस्तै केही थालनी गर्नुपर्छ । प्रस्तुतिको निष्कर्ष थियो ।

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेृको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।

यस बर्ष मंसिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस बर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ रहेको छ ।

समारोहमा उपप्रमुख खड्गी श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, वडाध्यक्ष श्रेष्ठसहित सहभागीले हस्ताक्षरमार्फत हिंसा विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउनुभएको थियो ।

     

Tags

#Violence
चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत