काठमाडौँ महानगरले प्रविधियुक्त र वातावरणमैत्री सार्वजनिक शौचालय बनाउने नीति लिएको छ — प्रवक्ता डंगोल

आज विश्व शौचालय दिवस

काठमाडौँ । ‘सार्वजनिक शौचालय निर्माण गर्ने विषयमा काठमाडौँ महानगर स्पष्ट छ । हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने स्वीकृत नीति छ । नीति कार्यान्वयन गर्ने बजेट छ । तर, कार्यान्वयनमा केही समस्या छ ।’ काठमाडौँ महानगर क्षेत्रभित्र सार्वजनिक शौचालयको उपलब्धताका विषयमा कुरा गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘सार्वजनिक शौचालय भन्नेवित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको बुझाइ अस्वभाविक होइन । यसै कारण कुनै ठाउँमा शौचालयको योजना आउनासाथ स्थानीयबाट विरोध हुन्छ । तर, अहिले हामी पुरानो अवस्थाबाट व्यवस्थापकीय क्षमतामा माथि उक्लिसकेका छौँ । अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुनेछन् । गन्ध नआउने पूण सफा हुनेछन् । यसका लागि हामीले स्वयम्भू र बानेश्वरमा परीक्षण अभ्यास गरिसकेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले एक वडा एक सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिएको छ । यसै गरी पुराना र व्यवस्थापन कमजोर भएका शौचालयलाई प्रविधियुक्त शौचालयले पुनस्र्थापना गर्न पुराना संरचना भत्काएको छ ।

सरसफाईका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघसंस्थाले विश्व शौचालय दिवस २०२१ को सन्दर्भ पारेर आज राजधानीमा आयोजना गरेको गोष्ठीमा प्रवक्ता डंगोलले काठमाडौँ महानगरले शौचालय निर्माण र व्यवस्थापनमा के गर्दैछ, प्रसङ्गमा यस्तो बताउनुभएको हो ।

अहिले मानिसहरुमा शिक्षाको मात्रा बढेको र सचेतनाको मात्रा घटेको छ । यसकारण सरसफाइका क्षेत्रमा नागरिक दायित्वको पक्ष कमजोर छ । गोष्ठीमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले सरकारले खानेपानी र सरसफाइकालागि विनियोजन गर्ने बजेट बढ्न नसकेकोले पर्याप्त काम हुन नसकेको उल्लेख गर्नुभयो ।

त्यस क्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) का अध्यक्ष अनिलभद्र खनाल, सरसफाइ विज्ञ शरद अधिकारीलगायत वक्ताले, सरसफाइको सूचकका रुपमा शौचालयको पूर्वाधार सुधारमा ठोस र नियमित काम गर्नुपर्ने सुझाव दिनुभएको थियो । नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुल्ला रुपमै दिशा पिसाब गरिरहेको तथ्याङ्क देखाउँदै वक्ताहरुले पूर्ण सरसफाइबाट दिगो विकास लक्ष्यसम्म पुग्न धेरै काम गर्नुपर्ने खाँचो देखाउनुभएको थियो ।

गोष्ठीमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रभात श्रेष्ठले सरसफाइको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको अवस्था र प्रयोगमा ल्याउन सकिने प्रविधिका बिषयमा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले सरसफाइमा अन्तरराष्ट्रिय मापदण्ड २४५२१ का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत