मुस्ताङे स्याउ काठमाडौंको छतमा लटरम्म

सहरका कौसीमा फलफुल, तरकारी, फूल र जडीवुटी उत्पादनको सम्भावना

चन्द्रमणि भट्टराई
जेठ २८

DSC_1441काठमाडौं । काठमाडौं सहरको घना वस्ती, बीचमा घर । घरको छत — स्याउ, आँप, उखुलगायतका फलफुलले भरिएको । यस्तो दृश्य काठमाडौं महानगरपालिका वडा नं. २६, गल्कोपाखा, देवु टोलको धेवु मार्गमा रहेको, बद्रीनाथ गौलीको घरको छतमा पुगेपछि अनुभूति गर्न सकिन्छ । साढे २ आना जग्गामा बनेको साढे ३ तले घरको छतमा पुग्दा — व्यवसायिक फलफुल बगैचामा पुगेजस्तो लाग्छ ।

२०६७ सालमा घर बनाएका गौलीले २०६९ सालबाट कौसीमा तरकारी र फलफुलका बोट लगाउन शुरु गरेका हुन् । उनले रोपेको कलमी स्याउ १ बर्षमै फल्न थालेको थियो । अहिले पनि स्याउका बोटमा लटरम्मै फल छन् । बोटको क्षमताले नभ्याउने फल लागेकोले यस पटक सानो हावाले हाँगो भाँच्चियो । भाँच्चिएको हाँगो भान्साबाट ल्याएर देखाउँदै गौलीले भने — मलाई त बजारमा किनेर ल्याएको फल खान मन नै लाग्दैन । उनको घरमा आँप, नास्पातीजस्ता फलका बोट पनि छन् । अरु फलभन्दा स्याउ बढी फल्छन् । उनी भन्छन् एक बोटमा २०० दानासम्म फले । मुस्ताङी जातका यी स्याउ रसिला छन् । तौलिंदा ३ दानाले १ किलोग्राम हुन्छ ।

फलफुलबाहेक गौलीको कौसीमा इस्कुस, फर्सी, सागपातजस्ता तरकारी फल्छन् भने अदुवा, बेसार, टिमुरजस्ता मसलाका रुपमा प्रयोग गर्न सकिने जडीवुटी पनि छन् । २ जना छोराछोरीका पिता नेपाली सेनाको जागिरबाट अवकाशपछि कौसी तरकारी खेतीमा लागेका हुन् । छोरा छोरी विदेशमा छन् । श्रीमतिको आफ्नै पेशा छ । उनी भने बोटविरुवा र फलफुल, सागसव्जी र कुखुरा पालनमा रमाएका छन् ।

कौसी तरकारी खेतीले एकातिर आफैंले उव्जाएको ताजा तरकारी र फलफूल खान पाएका छन् । अर्कोतिर अवकाश प्राप्त जीवन कसरी विताउँ भनेर चिन्ता पनि छैन । योभन्दा महत्वपूर्ण भनेको त सहरलाई जैविक विविधताको संरक्षण सहितको हरियाली बनाउने काममा गौलीको योगदान छ । उनको कौसी बगैंचामा चराचुरुङ्गी पनि रमाउन पाएका छन् ।

कौसी तरकारी खेती गरेपछि घरको फोहोर बाहिर निकाल्नु परेन । गौलीले भान्साबाट बाँकी रहेको खाना दिएर कुखुरा पालेका छन् । कुखुराको सुली मल पनि हुने भो । मासुको आवश्यकता पनि पूरा हुने भो । उनका हरेक एक कामले अर्को कामसँग सम्बन्धित छन् । यसले सहरमा फोहार व्यवस्थापनकालागि नागरिक दायित्व पनि पूरा भएको छ ।

फलफुल, तरकारी र कुखुरापालनबाहेक गौलीको घरमा विभिन्न प्रजातिका फूल पनि छन् । गुलाफ, लाली गुराँस, रातकी रानी, ४ प्रजातिका असारे उनको कौसीका शोभा हुन् । जसले घरलाई सुगन्धित मात्र बनाएको छैन, सुन्दर पनि बनाएको छ । काठमाडौंको घनाबस्ती । हरियाली खोज्दै हिँड्नु पर्ने ठाउँको एउटा सानो क्षेत्रफलमा उत्पादन भएका यी फलफुल तरकारी उत्पादनले सहरी जीवनलाई उर्जा दिन्छ । यो विषयलाई यसरी पनि भन्न सकिन्छ — सहरका हरेक घरका छत उत्पादनशील छन्, तर यी बाँझै छन् ।

सहरका वीचमा बसेर नागरिक दायित्वका कोणबाट उल्लेखनीय काम गर्ने गौली अनुकरणीय पात्र हुन् । अरु पनि यस्ता पात्रले चुपचाप काम गरिरहनु भएको हुनसक्छ । त्यस्ता पात्रलाई खोजेर कौसी खेती अभियान सञ्चालनको अगुवा बनाउन सक्ने हो भने, नागरिक सहभागिताले नै सहरको मुहार फेरिन सक्छ ।

DSC_1445महानगरले कौसी तरकारी खेतीको प्रवर्धनका लागि के गर्दैछ?

कौसीलाई उर्वर बनाउन महानगरले अहिले कौसी तरकारी खेती तालिम सञ्चालन गरिरहेको छ । महानगरका वरिष्ट बाली संरक्षण अधिकृत रामचन्द्र पौडेलका अनुसार वडा नं. २२, २४ र २५ बाहेकका अरु वडामा तालिम सम्पन्न भइसकेको छ । हरेक वडाका स्थानीयमध्ये २५ जनाको एउटा समूह बनाएर २ समूहमा अर्थात् एउटा वडाका ५० जनालाई तालिम दिइएको हो । यसरी दिइने तालिममा घरको फोहोरलाई प्राङ्गारिक बनाउने सीप, घरमा गड््यैला पालन गरेर फोहोर व्यवस्थापन तथा मल उत्पादन गर्ने विधि र कौसीमा तरकारीका विरुवा रोप्ने हुर्काउने तथा लाभ लिने विधि सिकाइन्छ ।

यसबाट सहरी सरसफाइमा नागरिक दायित्व बढाउन सके सहरमा देखिएको उजाडपनमा कमी आउने निश्चित छ । सँगै सहरबासीले ताजा तरकारी तथा फलफुल खान पाउँछन् । यसबाट एकातिर सहरी स्वास्थ्यमा सुधार आउँछ भने अर्कोतिर वातावरणीय सुधारमा योगदान पुग्छ ।

 

यसमा तपाइको मत