प्रविधिमैत्री प्रशासनका लागि महानगरका वडा सचिवहरुको क्षमता विकास शुरु

चन्द्रमणि भट्टराई
जेठ २७

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा सचिवहरुका लागि प्रविधि सञ्चालन सम्बन्धि ३० दिने तालिम शुरु गरेको छ । सकेसम्म नागरिकको मोवाइलबाटै, त्यसमा तत्काल सम्भव नभए सेवाग्राहीले घरको कम्प्युटरबाट, त्यो पनि सम्भव नभए महानगरमा आइ पुग्ने वित्तिकै सेवा दिने उद्देश्य पूरा गर्न यस प्रकारको तालिम आयोजना गरिएको महानगरको मानव संशाधन महाशाखाले जनाएको छ ।

तालिम शुभारम्भ गर्दै महानगरका सहसचिव राजेश्वर ज्ञवालीले — प्रविधिमैत्री व्यवहारले गुणस्तरीय सेवा व्यवस्थापनमा सहयोग पुग्ने बताउँदै यसमा सम्झौता गर्न नहुने बताउनुभयो । कर्मचारीको क्षमताबाट कार्यालयको सामाजिक प्रतिष्ठामा बल पुग्छ । प्रतिष्ठित सरकारी निकायमा आवद्ध हुन पाउनु कर्मचारीको गौरवको विषय बन्छ । सहसचिव ज्ञवालीले थप्दै भन्नुभयो — नागरिकलाई सेवामा सन्तुष्टि प्रदान गर्न पनि यस प्रकारको तालिम जरुरी छ ।

सोही अवसरमा तालिमका संयोजक एवं मानव संशाधन महाशाखा प्रमुख नमराज ढकालले — कम्प्युटर विना अव सार्वजनिक सेवा अघि बढाउन नसकिने विचार राख्नुभयो । संघीय सरकारले कम्प्युटर अप्रेटरको नियुक्ति नगर्ने निर्णय गरिसकेको छ । मन्त्री परिषद्को वैठकमा मन्त्रीहरु ल्यापटप बोकेर जाने समय आइसक्यो । अव कर्मचारीले कम्प्युटर जान्दिन भन्न मिल्दैन, महाशाखा प्रमुख ढकालको भनाइ थियो ।

तालिममा एमएस अफिस प्याकेज २०१३ का कार्यक्रमहरुमा वर्ड, एक्सल र पावर प्वाइन्ट इन्स्टल गर्न, सञ्चालन गर्नदेख सेवा व्यवस्थापनमा आवश्यक पर्ने सूचना प्रविधिको उच्चतम उपयोग गर्ने ज्ञान तथा सीप प्रदान गरिनेछ ।

Tags

ICT at KTM

यसमा तपाइको मत