वडा नं. १८ मा जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना

बाद्यबादन, गायन र प्रवचनबाट जेष्ठ नागरिकको समय व्यवस्थापन गरिने



चन्द्रमणि भट्टराई
जेठ २६

DSC_1257काठमाडौं । काठमाडौं महानगरको वडा नं. १८ ले आज (शनिवार) देखि जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र शुभारम्भ गरेको छ । संघीय गणतन्त्र नेपालको संविधानबमोजिम स्थानीय सरकारको निर्वाचनपछि जनप्रतिनिधिले पद वहाली गरेको बार्षिकोत्सवको अवसरमा वडाले आयोजना गरेको जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र उद्घाटन तथा व्यक्तित्व सम्मान कार्यक्रमको आयोजना गरेर सेवा शुरु भएको जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै काठमाडौ क्षेत्र नं. ७ का संघीय संसद सदस्य रामवीर मानन्धरले, जेष्ठ नागरिक सम्मान, विगतमा भएको राजनीतिक आन्दोलनबाट प्राप्त उपलव्धी भएको टिप्पणी गर्नुभयो । अहिले नागरिकले स्थानीय सरकारको उपस्थिति महसुस गर्न थालेका छन् । संसद सदस्य मानन्धरको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — महानगरले एक बर्षभित्र सम्पन्न गरेका कामको अभिलेखीकरण तथा संस्थागत व्यवस्थापन गर्दै नागरिकको घर आँगनमा भएका समस्या समाधानमा दृढताका साथ काम गर्ने बताउनु भयो । लामो समय जन प्रतिनिधिविहिनताको अवस्थाले सृजना भएको अभाव पूरा गर्न समय लाग्छ । धैर्यताका साथ हाम्रो मुल्याङ्कन गर्नोस् । कामलाई प्राथमिकीकरण गरेर हामी हरेक नागरिकको समस्यामा पुग्नेछौं । मेयर शाक्यको भनाइ थियो ।

सिंहदरबारका अधिकार नागरिकको घरमा पठाइएको छ । नागरिकलाई महसुस गराउनोस् । कार्यक्रममा वडा नं. १८ का पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाले जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । नागरिकले महसुस गरे मात्र शासन सफल हुन्छ, .उहाँको भनाइ थियो ।

DSC_1355मनोरञ्जन केन्द्रमा अहिले भजन, बाद्यबादन र कथावाचन

वडामा भएका ६० बर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो । वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भन्नुहुन्छ — पाको उमेरका मानिसलाई समय विताउन कठिन छ । प्रविधियुक्त सामान तथा उपकरण चलाउने सीप नभएपछि उनीहरु घरमा एक्लो जस्तो भएका छन् । ती आमाबुबा सेवा केन्द्रमा आउँछन् र भजन कीर्तनमा सहभागी हुन्छन् । यसले उनीहरुको जीवनमा सकारात्मक उर्जा दिन्छ । वडाध्यक्ष महर्जनको विश्वाश छ । यो काम हामीले चुनावमा नागरिकसँग गरेको प्रतिवद्धता र महानगरले गरेका निर्णयका आधारमा गरिएको हो — उहाँले जानकारी दिनुभयो ।

सेवा केन्द्रमा अहिले हार्मोनियम, तवला, पछिमा, बाँसुरी, मादल जस्ता वाद्ययन्त्र राखिएका छन् । यस कामका लागि वडाले २ लाख रुपैयाँ खर्च गरिसकेको छ । वडामा ६० बर्ष उमेर पूरा भएका करीव ७०० जना नागरिक हुनुहुन्छ । यीमध्ये करीव ६०० जनालाई जेष्ठ नागरिक परिचय पत्र प्रदान गरिसकिएको छ भने करीव १ सय जनालाई कार्ड प्रदान गर्न बाँकी भएको वडाले जनाएको छ । महानगरले प्रदान गर्ने महानगर विशेष भत्ताका लागि करीव १५५ जना जेष्ठ नागरिक योग्य हुनुहुन्छ ।

DSC_1314महानगर विशेष भत्ता वितरण

वडाले शनिवारै जेष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ । ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका पुरुषलाई जनही बार्षिक १२ हजार रुपैयाँ नगदै प्रदान गरिएको हो । यसबाहेक जेष्ठ नागरिकलाई प्रदान गरिने नियमित भत्ता आउँदो हप्तामा बैङ्कमा पठाइने वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

४ जनालाई व्यक्तित्व सम्मान प्रदान

कार्यक्रममा ४ जनालाई व्यक्तित्व सम्मानबाट सम्मानित गरियो । यसरी सम्मानीत हुनुहुनेमा पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवा, परम्परागत बाद्य गुरु एवं देवी नाचका गुरु इन्द्रमान महर्जन गीतकार तथा संगीतकार बालकृष्ण सञ्जीव र दूर्गम जिल्लामा गएर शिक्षा प्रवर्धन गर्ने हिमाली गुरु विनोद शाही हुनुहुन्छ । यसरी सम्मानित हुनुहुने व्यक्तित्वमध्ये चन्द्रानन्द नेवा वि. सं. २०१९ सालदेखि २०५९ सालसम्म नियमित वडाको वडाध्यक्ष भएर काम गर्नुभएको व्यक्ति हो ।

बार्षिक कामको विवरण सार्वजनिक

वडाले एक बर्षभित्र वडामा सम्पन्न भएका कामहरुको विवरण पुस्तिकामार्फत सार्वजनिक गरेको छ । हामीले वडाको सन्तुलित विकासका लागि प्रयास गरेका छौं । सुरक्षित, समृद्ध, समावेशी र पहुँचयुक्त वडा बनाउने हाम्रो अभियान हो । यसमा केही कुरा छुटेका वा केही काम गर्न बाँकी भएका हुन सक्छन् । ती कामलाई हामी आउँदो बर्षमा सम्पन्न गर्नेछौं । सम्पन्न कामका विषयमा प्रतिक्रिया दिँदै वडाध्यक्ष महर्जनले भन्नुभयो — वडाबासीको चाहनालाई ध्यानमा राखी काम गरिनेछ । यसबाट वडा नं. १८ नमूना वडा बन्नेछ ।

 

यसमा तपाइको मत