यस बर्ष दशैंमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन नरोकिने

पर्वमा सफाइकर्मीलाई सहज बनाउन, घर बाहिर फोहोर ननिकालीदिन जनसाधारणमा आग्रह

काठमाडौं । यस बर्ष दशैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ । कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ । विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ, — संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाएका छौँ ।

यो स्वच्छ पर्व मनाउने प्रयास हो । यसका लागि हरेक फोहोर उत्पादकले पनि सहयोग गर्नुपर्छ । श्रेष्ठ भन्नुहुन्छ — यस अवधिमा उद्योग÷व्यवसाय÷कार्यालय बन्द नै रहन्छन् । धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ । काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ । अहिले देवी शक्तिपीठसहित मानिसहरुको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन् ।

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु ल्याण्डफिल साइट सञ्चालन भए आफूहरुलाई नियमित काम गर्न कठिन नहुने बताउँछन् । वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्नुहुन्छ — सरसफाई कार्य जटिल प्रकृतिको काम हो । पर्वमा सबै व्यक्ति रमाइलो गरिरहेका हुन्छन् । यो सफाइकर्मीको पनि पर्व हो । त्यसैले आधा समय सफाइमा र आधा समय पर्वमा लगाउन पाए हुन्थ्यो । यसका लागि फोहोर उत्पादन गर्नेहरुले पनि जिम्मेवार भएर फोहोर व्यवस्थापनमा सहयोगी बन्नुपर्छ । फोहोरमैला व्यवस्थापन संघ स्वमानका अध्यक्ष धु्रव आचार्यको भनाइ पनि उस्तै छ । सार्वजनिक ठाउँहरु सफाइ गर्ने काम नियमित हुन्छ । सामान्यतयाः पर्वका समयमा ल्याण्डफिल साइटका स्थानीयको चाहना फोहोर नल्याइदिए हुन्थ्यो भन्ने हुन्छ । त्यसैले हामी द्वादशीपछि फोहोर संकलन कार्यलाई नियमित गर्छौँ ।

दशैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत