वैकल्पिक उपचार पद्धतिमा नेपाल र चीन सम्बन्धको खोजी

चन्द्रमणि भट्टराई
जेठ २४

काठमाडौं । परम्परागत चिकित्सा पद्धतिबाट नेपाल र चीनको सम्बन्ध खोजी थालिएको छ । यसका लागि चीनको ज्याङ्सी प्रदेशको स्वास्थ्य र परिवार योजना आयोगका महानिर्देशक डिङ् ज्याकोमको नेतृत्वमा ५ सदस्यीय टोली अहिले काठमाडौंमा छ । टोलीमा चिकित्सा क्षेत्रका डाक्टरहरु सहभागी छन् । टोलीले नेपालको प्रचलित चिकित्सा पद्धति र प्रभावका विषयमा अध्ययन गरिरहेको छ ।

यसै क्रममा टोलीले विहीबार महानगरको जनस्वास्थ्य क्षेत्रका अधिकारीहरुसँग भेट गरी काठमाडौंको सहरी स्वास्थ्यका विषयमा जानकारी लियो । यस क्रममा महानगरका वरिष्ट जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले — आधारभूत स्वास्थ्य शिक्षा, विशिष्ट चिकित्साका क्षेत्रमा काठमाडौंले महत्वपूर्ण उपलब्धी हासील गरेको जानकारी गराउनु भएको थियो भने जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले — संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय तहमा आएका अधिकार व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो । सो क्रममा महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख साधुराम भट्टराईले, दुई देश वीच नागरिक सम्बन्ध स्थापित गर्न चिकित्सा क्षेत्रले महत्वपूर्ण स्थान लिन सक्ने विश्वाश व्यक्त गर्नुभयो ।

सो क्रममा भ्रमण प्रतिनिधि मण्डलका प्रमुख ज्याकोमले — काठमाडौंमा आफू वैकल्पिक चिकित्साका रुपमा परम्परागत चिनियाँ पद्धतिको प्रवर्धन गर्न इच्छुक रहेको बताउनु भएको थियो । उहाँको भनाइ थियो — चीनमा परम्परागत उपचार पद्धतिको छुट्टै व्यवस्था छ । यस सम्बन्धि पढाइ हुने विश्वविद्यालय छन् । ती विश्वविद्यालयमा पढ्ने छात्र छात्रालाई नेपाल ल्याएर ज्ञान, सीप र क्षमता आदान प्रदान गर्न सकिन्छ ।

टोली ७ दिने अध्ययनका लागि नेपाल आएको हो ।

 

 

यसमा तपाइको मत