कीर्तिपुण्य बज्रधातु महाविहार पुननिर्माण थालियो : महानगरका प्रमुखबाट आज शिलान्यास

काठमाडौँको भित्री सहरमा विश्व सम्पदा क्षेत्रका भन्दा प्राचीन सम्पदा छन्, तिनको संरक्षण र प्रवर्धन महानगरको प्राथमिक योजना हुन् — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ घुम्न आउने पर्यटकले ४ वटा विश्व सम्पदा क्षेत्र मात्र देखेका र घुमेका छन् । ती क्षेत्रमाभन्दा प्राचीन सभ्यता बोकेका ठाउँहरु भित्री सहरी क्षेत्रमा छन् । यी ठाउँमा पर्यटकहरु आउन सकेका छैनन् । यो अवस्थालाई महसुस गरेर हामीले यस्ता ठाउँको संरक्षण गर्ने र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएर काम गरिरहेका छौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, ‘०७६ सालको इन्द्रजात्रामा हामीले भगिनी सम्बन्ध भएका अन्तररााष्ट्रिय नगरका प्रमुखहरुलाई रथयात्रा मार्गको अवलोकन गराएका थियौँ । त्यस क्रममा आउनु भएका पथप्रदर्शकहरु भित्री सांस्कृतिक संरचनाको प्राचीनता देखेर अचम्ममा पर्नुभएको थियो । पर्यटकलाई बाटो देखाउनेलाई ती ठाउँको महत्व थाहा नभएपछि प्रवर्धन कसरी हुन्छ? त्यसैले हामी भित्री सहरका महाविहार, विहार, बहाल, बही, ननी, चोकजस्ता सांस्कृतिक भौतिक संरचना र मौलिक बस्तीको मर्मत, सम्भार र जीर्णोद्धार गरेर पर्यटन प्रवर्धनका कार्यक्रमसँग जोड्दैछौँ ।’

आज वडा २१ तः बहाः मा रहेको कीर्तिपुण्य बज्रधातु महाविहार (क्वाः पाः द्यःछेँ) को पुननिर्माणका लागि शिलान्यास समारोहमा प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । भित्री सहरका प्राचीन सम्पदामध्ये यो विहार पनि एक हो । ६ सय बर्ष पुरानो यो विहारजस्ता भौतिक सांस्कृतिक सम्पदा धेरै छन् । ती क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो योजना हो । प्रमुख शाक्यको भनाइ थियो ।

काठमाडौँका सम्पदाहरुलाई पुननिर्माण गर्नु, आवासीय परम्परागत भवनहरुलाई मौलिक संरचनामा यथावत राख्ने प्रयास गर्नु हाम्रो कार्यकालमा भइरहेको प्रमुख काम हुन् । शिलान्यास समारोहमा वडा २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्यले, महानगरले गरेका हरेक कामलाई नराम्रो मात्र देख्ने दृष्टि दोषका कारण भएका कामको चर्चा हुन नसकेको उल्लेख गर्नुभयो ।

यो महाविहार भ्याटसहित करीब ९६ लाख रुपैयाँ लागतमा पुननिर्माण हुनेछ । भदौ २ गते निर्माण कम्पनी नमोवुद्ध बिल्डर्सलाई कार्यादेश दिइसकिएको छ । यसको निर्माण अवधि ०७९ भदौ २ गतेसम्म रहनेछ ।

यसको डिजाइन इञ्जिनियर अमित बज्राचार्यले गर्नुभएको हो । उहाँकाअनुसार तीनतले महाविहार २४ फिट लम्बाइ र १४ फिट ८ इन्च चौडाइ जमिनमा निर्माण हुनेछ । यहाँ अक्षोभ्य बुद्धको मूर्ति छ । अहिले मूर्तिको प्राण कलशमा प्रतिस्थापन गरेर काम थालिएको हो ।

विहार संघका सदस्य गुरजु डा. नविन बज्राचार्यकाअनुसार नेपाल संवत ६०७ वि. सं. १५४४ को महाविहार सम्बन्धी अभिलेख पाइन्छ । त्यसबेला तःबहाः का जीनदेव बज्राचार्यले बालाजुमा रहेको वुद्धमूर्तिमा चढाएको गहनामा लेखिएको अक्षरका आधारमा यो त्यस अघिकै महाविहार रहेको मान्न सकिने बज्राचार्यको तर्क छ । नेपाल संवत् ६९९ मा महाविहारको संरक्षण र व्यवस्थापनका लागि गुठी स्थापना भएको अभिलेख पाइन्छ ।

महाविहारको मुल ढोकामा राखिएको तोरणमा नेपाल संवत् १००७ मिति उल्लेख छ । यो मितिमा जीर्णोद्धार भएको हुन सक्ने डा. बज्राचार्यको बताउनुभयो ।

महाविहार ०७२ सालको भूकम्पले जीर्ण बनेको थियो । यो लगं वहाः का ८ वटा शाखा (कचा वहाः) मध्ये एक हो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत