इन्द्रजात्राको तेस्रो दिन कुमारी रथ यात्रा सुरु : आज तल्लो टोलमा रथ घुमाइँदै

कोविड संक्रमणको जोखिम बढ्न नदिन सकेसम्म कम व्यक्तिलाई सहभागी गराएर जात्रालाई निरन्तरता दिने प्रयास

काठमाडौं । इन्द्रजात्राको तेस्रो दिन आज कुमारी रथ यात्रा सुरु भएको छ । कोविड संक्रमणका कारण सकेसम्म कम मानिसहरु भेला भएर, स्वास्थ्य मापदण्ड पालना गर्दै रथ यात्रा सुरु गरिएको हो । रथ यात्रा हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, संघीय तथा प्रदेश सभा सदस्यहरु र जनप्रतिनिधिहरु गद्दी वैठकबाट कुमारी, गणेश र भैरवको दर्शन गर्नुभएको थियो ।

रथ यात्रा अघि राष्ट्र प्रमुखले कुमारीको दर्शन गर्ने चलन जय प्रकाश मल्लका पालादेखि चलेको विश्वाश गरिन्छ । उनी कुमारीको रथ यात्रामा आफैं पनि जान्थे भन्ने भनाइ पनि छ । कुमारीको रथ यात्राको पहिलो दिन क्वःने लागा अर्थात तल्लो टोलमा रथ यात्रा गरिँदैछ । कुमारी घर अगाडि गद्दी बैठकबाट राष्ट्रपतिले कुमारीको दर्शन गरिसकेपछि रथ यात्रा थालिएको थियो । रथ भुतिसः, चिंकमुगल, अट्को नारायण, मजिपाट, न्हूघ, ज्यावहाः, लगन, गोफल, व्रह्मटोल, ह्युमत, तुकंवहा, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, बिच्छेवहाः, क्वपुंतुं, सिंहसत्तल हुँदै कुमारी घरसम्म लगिन्छ । आजको दिनलाई ‘क्वः नेया’ भनिन्छ ।

इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलि आएको चलन भन्ने भनाइ राख्ने संस्कृतिविद्हरु पनि छन् । तर जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्लकालीन शासनबाट सुरु भएको मानिन्छ । जनकथन अनुसार — तत्कालीन तान्त्रिक राजाको तलेजु भवानीसँग भेटघाट हुने गरेको थियो । भेटघाटका क्रममा देवीको सुन्दरताबाट लोभिएर राजाको मनमा भोग बासना उब्जियो । राजाको मनमा आएको यो पाप थाहा पाएपछि देवीले राजालाई श्राप दिइन् । देवीले दिएको त्यो पाप कटाउन र शासन बचाउन तलेजु भवानीको प्रतीकका रुपमा कुमारी रथ यात्रा शुरु गरिएको मान्यता पनि छ । यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ ।

इन्द्रजात्राका विविध पक्षमध्ये, टोल पूजा पनि एक हो । पूजा विधि यस्तै हो भन्ने नभए पनि रथ यात्रा गर्दा कुनै प्रकारको अमङ्गल नहोस् भनेर गणेश, र सुरक्षाकालागि क्षेत्रपालका रुपमा भैरव र अजिमाको पूजा गरिन्छ । राष्ट्र प्रमुखले कुमारीको दर्शन गर्ने दिन अर्थात् कुमारी रथ यात्राको पहिलो दिन तल्लो टोलमा टोल पूजा नगरी रथ तान्नु हुँदैन भन्ने विश्वाशका साथ त्यस दिन जैसी देवल र आसपासका क्षेत्रमा स्थानीय नेवार समुदायका मानिसहहरुले टोल पूजा गर्ने गर्छन् । त्यस बेला राखेको समयवजीलाई सामुहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन छ । जैसी देवलमा हुने यस प्रकारको पूजा (त्वा पूजा) सम्पन्न भयो भन्ने खवर बसन्तपुर कुमारी घरमा नपुगी रथ यात्रा अघि नबढ्ने बताइन्छ ।

यस बर्ष भने कोविड संक्रमणबाट हुन सक्ने खतराबाट भक्तलाई बचाउन समयबजी प्रदर्शन गरिएन । पूजा विधिलाई निरन्तरता दिन समयबजीमा प्रयोग हुने खाद्य परिकार, फलफुल र मिठाईबाट पूजा विधि गरियो ।

भाद्र शुक्ल द्वितियाका दिन कालभैरव अगाडि गाडिने यः सिं अर्थात इन्द्रध्वज खोजेर ल्याउने र गाड्ने काम मानन्धर समुदायका मानिसले गर्छन् । गुठीयारहरु भदौ २३ गते विहान १० बजेर ५२ मिनेटको साइतमा बनयात्रा गएका थिए । त्यसै दिन ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिएको थियो । भदौ २९ गते मंगलबार विहान १० बजेर ३४ मिनेटको साइतमा गुर्जुको पल्टन र सांस्कृतिक बाजागाजासहित लिङ्गोलाई नगर प्रवेश गराइएको थियो । यसै गरी असोज २ गते शनिवार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उठाइएको थियो । यसैदिनदेखि बसन्तपुरमा रहेको हाथुद्यः (श्वेत भैरव) को दर्शन गर्न र प्रसाद ग्रहण गर्न सर्वसाधारण सबैका लागि खुल्ला गरिएको छ ।
भोलि माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

जात्रामा लाखे, आकाश भैरव, पुलुकिसी, हलचोक भैरव, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।

असोज ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ३६ मिनेटको साइतमा इन्द्रध्वज ढालिनेछ । ढालिएको लिङ्गो टेकु दोभानमा सेलाएपछि जात्रा सकिएको मानिन्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत