हजुरबा र नातिनी एउटै कक्षामा सिक्दैछन् परम्परागत वाद्यबादन

चन्द्रमणि भट्टराई
जेठ २३

काठमाडौं । काठमाडौंको माली गाउँका सेँ मुनिकार ८० बर्षका भए । उनी अहिले स्वर लिपि हेरेर परम्परागत बय् बाजा बजाउने अभ्यासमा हरेक दिन गुठी घर पुग्छन् । पहिले उनी आफैं यो बाजा बजाउन सिकाउँथे । उनले सिकाउँदा हातका औला चलाएको हेरेर सिक्ने सिकाउने गरिन्थ्यो । पुराना दिन सम्झना गर्दै उनी भन्छन् — समय फेरियो, शैली फेरियो । पहिले बाजा बजाउन सिकाउन कठिन हुन्थ्यो, अहिले सजिलो भएको छ ।

त्यही कक्षामा दाफा गुरु सिंहबहादुर मुनिकार पनि छन् । उनी कक्षामा आउँदा नातिनी उजला मुनिकारसँगै आउँछन् । उजला यस बर्षको यसईई परीक्षा दिएर फुर्सदमा छिन् । हजुरबा र नातिनी एउटै कक्षामा बसेर पढ्दा रमाइलो हुन्छ । सिंह भन्छन् — पुराना गुरुले स्वर लिपिमा सिकाउन सक्नुहुन्न । त्यसैले स्वरलिपिमा सिकाउन सक्ने धर्म मुनिकारलाई गुरु मानेर सिकिरहेका छौं । उनीसँगै रहेकी उजला — हजुरबासँगै बसेर परम्परागत बाजा बजाउन सिक्नु पाउनुलाई गौरव मान्छिन् । उनीहरुसँगै कक्षामा १२ बर्षिय, सुजल मुनिकारदेखि ६१ बर्षिय जितेन्द्र, ६२ बर्षिय त्रिरत्न र ८० बर्षिय सेँ सहभागी हुन्छन् । नेवारी संस्कृति चलाउन नभइ नहुने बय् बाजा बजाउन सिकाउन स्वर लिपि बनाएको छु । कक्षा सञ्चालन गरिरहेका वाद्य गुरु धर्म मुनिकार भन्छन् — यो बाजामा तार सप्तकमा ग कोमलसम्म र मद्र सप्तकमा नि सम्मका स्वर निकाल्न सकिन्छ । बय् बाजामा यसैवीचका स्वरमा उच्चारण गर्न सकिने गीत गाइन्छ । यो प्रशिक्षण मागः भोताहिति त्वाः खलः मुनिकार समाजले आयोजना गरेको हो । यसमा ३ जना महिलासहित १३ जनाको सहभागिता छ ।

बय् बाजा अहिले लोप हुने अवस्थामा छ । प्रशिक्षार्थी राजु मुनिकार भन्छन् — यो बाजा बजाउन सक्ने गुरु अव २ जना मात्र छन् । उनीहरु हुँदै सिकौं भनेर कक्षा शुरु गरिएको हो । नत्र भए बाजा नै लोप हुने अवस्थामा पुग्ने भो ।

बय् बाजा नेवार समुदायको जात्रा, पर्व तथा अन्य उल्लासका समयमा बजाइन्छ । महानगरका पुराना वस्तीमा मात्र सुन्न पाइने यो बाजा कोँचाखिंसँग सम्बन्धित छ ।