पत्रकारले, विकासमैत्री विधि विश्लेषण क्षमता राख्नु पर्नेमा जोड

इन्स्टिच्युट अफ कल्चर अफेयर र विकास पत्रकार मञ्च विकासका मुद्दामा सँगै हिँड्ने

जेठ २१
काठमाडौं ।

DSC_0746नागरिक चाहनाबमोजिमको विकास र व्यवस्थापनका लागि विधि विश्लेषण गर्न सक्ने क्षमताका पत्रकारहरुको क्षमता विकास कार्यक्रम थालनी गरिएको छ । विकासका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न विकास पत्रकार मञ्च (फोडेज) नेपाल र इन्टरनेशनल कल्चरल अफेयर्स (आईसिए) संयुक्त आयोजनामा सोमबार राजधानीमा सम्पन्न कार्यशालामा आम खवरकर्मीलाई यस ठाउँमा पु¥याउन क्षमता विकास कार्यक्रम निरन्तर सञ्चालन हुनु पर्नेमा जोड दिइयो । पूर्वाधार विकासका कुरा हुन् या सामाजिक विकासको पक्ष । राजनीतिक, शैक्षिक वा वातावणीय विकासका पक्ष या विकास कुटनीतिको कुरा किन नहुन् । प्रचलित व्यवस्थाले नागरिकको विकास चाहना पूरा गर्न सक्छ कि सक्दैन, या त्यसमा विधिले कहाँ रोक्यो ? विश्लेषण गर्न सक्ने क्षमता पत्रकारले राख्नुपर्छ । कल्चर अफेयर्सका अध्यक्ष एवं प्रशिक्षक प्रा. डा. तत्व तिमिल्सिना भन्नुहुन्छ — व्यवस्थाभित्रका अन्तरबस्तु हेर्न सकिएन भने विकास पत्रकारिताले परिवर्तन ल्याउन सक्दैन । विधि बनाउने को थिए, किन बनाए, कतै विधि निर्माण गर्ने बेलामै गलत त थिएन? हेर्न सक्ने पत्रकार चाहिन्छ । अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

विकास हुन समय व्यवस्थापन जरुरी छ । समयको सीमा कसैले तोड्न सक्दैन त्यसैले काम निर्धारित समयमा हुनुपर्छ । आज त्यस विषयमा खवरदारी गर्न क्षमता राख्ने पत्रकार चाहिएको छ । प्रशिक्षक हरेराम भट्टराई भन्नुहुन्छ —विकासका समाचार परिमाणात्मक रुपमा बढेका छन्, अव तिनलाई गुणात्मक रुपमा बढाउन जरुरी छ । ‘समाचारमा तथ्य, अनुसन्धान र उदाहरणले पुष्टि दिन सके समाचारको गहनता बढ्छ । त्यसैले तथ्यसहितका समाचार प्रकाशन प्रसारणमा ध्यान दिनु पर्छ यसले पत्रकारको ब्राण्ड बढ्छ । प्रशिक्षक भट्टराईको सुझाव थियो ।

फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले विकास पत्रकारिताको उद्देश्य प्राप्तिका लागि विगतको अनुभवसँग क्षमता अभिवृद्धिका लागि गरिएका सबै प्रयासलाई घुलमिल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँको भनाइ थियो ‘विकासका कतिपय विषयमा सामूहिक प्रयास आवश्यक हुन्छ भने कतिपय विषयमा सहकार्य ।’

समाबेशी र पहुँचयुक्त विकासले पद्धतिले मात्र समयको माग र नागरिकका विकास चाहना पूरा गर्न सक्छ । यसका लागि पत्रकारको आन्तरिक सञ्चार, अनुभव एवं सूचना आदान प्रदान, स्थलगत भ्रमण अवलोकनबाट पत्रकारको वृत्ति एवं क्षमता विकास गर्ने र यसबाट पत्रकारको वुझाइमा एक रुपता ल्याउने काममा आफू लागि रहेको मञ्चका सचिव चन्द्रमणि भट्टराईको भनाइ थियो । कार्यशालामा सहभागी पत्रकारहरुले विद्यमान विकास अभ्यास, यसका प्रणाली, सञ्चार गृह र विषयको प्राथमिकता जस्ता विषयमा सवाल उठाएका थिए भने सवालको जवाफ आफैंभित्रबाट खोज्ने प्रयास गरिएको थियो ।

कार्यशालामा टेलिभिजन, अखबार, अनलाइन र एफएमका सञ्चारकर्मीहरुको सहभागिता थियो ।

 

यसमा तपाइको मत