वीर अस्पतालले नक्सा स्वीकृत प्रक्रिया नथाली जग खन्न थाल्यो

स्थानीय भन्छन् — रातमा घरै हल्लिन्छ

चन्द्रमणि भट्टराई

जेठ १५

काठमाडौं । वीर अस्पतालले नक्सा स्वीकृत प्रक्रिया नथाली भवन निर्माण कार्य जग खनिरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको अस्पतालले पुरानो भवनदेखि भोटाहिटीतर्फको जमिनमा भवन निर्माण गर्न जग खनिरहेको हो । ४० फिट जग खनेर २६ फिटमा २ तला जमिनमुनि र ७ तला जमिनमाथि गरी ९ तले भवनका लागि थालिएको काम वडा कार्यालयलाई थाहा छैन । वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्नुुहुन्छ — अस्पताललाई नक्सा खै भनेर सोद्धा, छ भन्छ तर देखाउन मान्दैन । फेरि कहिले, प्रक्रियामा छ भन्छ । तर म कहाँ आइ पुगेको छैन । म कहाँ नआइ कता गयो? केन्द्रमा पनि थाहा छैन । खै कुरै बुझ्न सकिएन । बज्राचार्य अस्पतालसँग भएको कुराकानी सम्झना गर्दै भन्नुहुन्छ — एक पटक त नक्सा गोप्य हो देखाउन मिल्दैन भन्यो । 

वडाध्यक्षको यो भनाइ लिएर चिकित्सा अध्ययन प्रतिष्ठानका उपकुलपति प्रा. डा. गणेश गुरुङ्कोमा पुग्दा उहाँले — शुरुमा वीर अस्पताल संघ सरकारको भएकोले स्थानीय सरकारबाट स्वीकृति लिनु नपर्ने बताउनु भयो । कुराकानीकै क्रममा पछिल्लो मापदण्डका विषयमा प्रश्न सोद्धा उहाँले — सरकारी भवन निर्माण गर्दा नक्साको काम सहरी विकास तथा भवन निर्माण विभागले गर्ने भएकोले विभागमार्फत प्रक्रिया अघि बढेको बताउनु भयो । यो नागरिकका लागि बनाउन लागिएको हो, त्यसैले सवैबाट सहयोग हुनुपर्छ । निर्माण कार्यसँग नागरिक सम्बन्ध देखाउँदै उपकुलपति प्रा. डा. गुरुङ्ले — महानगरसँग अरु पनि सहकार्य भइरहेको जनाउँदै यसमा पनि सहकार्य हुने बताउनु भयो । 

नक्सा छ भन्छन्, देखाउँदैनन्, कहिले गोप्य हो भन्छन्, अहिलेसम्म मसँग नक्सा आएको छैन । — चिनियाँमान बज्राचार्य, वडाध्यक्ष, कामपा वडा नंं २७

सरकारी भवनको नक्सा, सहरी विकास तथा भवन निर्माण विभागले तयार गर्ने हो । यसले प्रक्रिया गरेको हुनुपर्छ । — प्रा. डा. गणेश गुरुङ्, उपकुलपति, चिकित्सा अध्ययन प्रतिष्ठान

नक्सा दर्ता गर्न भ्याइएको छैन । अव तत्काल प्रक्रिया अघि बढाउँछु । — मचाकाजी महर्जन, सिनियर डिभिजन इञ्जिनियर, सहरी विकास तथा भवन निर्माण विभाग 


यसको काम सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इञ्जिनियर मचाकाजी महर्जनले हेरिरहनु भएको छ । उहाँसँग नक्सा पास प्रक्रियाका विषयमा जानकारी माग्दा उहाँले — अव दर्ता प्रक्रियामा जाने चरणमा रहेको बताउनु भयो । मैले यस अघि नै दर्ता गर्न भनेको थिएँ तर दर्ता भएको रहेनछ । अब प्रक्रियामा पठाउँछु, इञ्जिनियर महर्जनले बताउनुभयो । 

यो भवन निर्माण गर्दा १३ वटा घरको ढल रोकिएको र प्रत्यक्ष २३ वटा घरमा असर परेको स्थानीय उदयमान ताम्राकारको आरोप छ । उनी भन्छन् — ढल रोकियो, घर चर्कियो । यति मात्र हो र रातमा त्यहाँ काम गर्दा जमिन थर्किएर घरमा सुत्नै सकिँदैन । उनको दावी छ, भूकम्पको कम्पनले चर्किएको घरलाई अस्पतालको जग खन्दा दोश्रो पटक चर्काइदियो । अव त भत्किन्छ होला । उनको आशंका छ । स्थानीइ यसरी गुनासो गर्छन् नि, भनेर उपकुलपति गुरुङ्लाई सोद्धा — त्यस्तो नभएको बताउनु हुन्छ । यहाँको तर्क छ — हामीले भवन निर्माण गर्दै गरेको ठाउँमा ढल कहीँ छैन, कसरी रोकियो? छेउका घरमा प्रभाव नपरोस् भनेर प्रत्येक ८ इन्चको फरकमा १२ मिटरका पाइल हालेका छौं । त्यसैले यसको असर बाहिर पुगेको छैन । उपकुलपतिको भनाइ छ । 

ठूलो संरचना निर्माण गर्दा यसका वहुपक्षीय प्रभाव हुन सक्छन् । ती सम्भावित द्वन्द्व तथा समस्याको पूर्वानुमान गरेर र समाधानका उपाय खोज्न सकिन्छ । तर, एउटा सरकारी निकायले अर्को सरकारी निकायको अस्तित्व स्वीकार नगर्ने अवस्था सृजना भयो भने, नागरिकलाई प्रदान गरिने सेवामा बाधा पर्न सक्छ । त्यसैले वीर अस्पतालको भवन निर्माण गर्दा वातावरणीय प्रभाव, स्थानीय सरोकार र चासोसँगै भवन निर्माण मापदण्ड सम्बन्धि प्रचलित कानूनको पालनामा सचेत हुन आवश्यक देखिएको छ । 


प्रचलित कानूनमा के छ? 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ मा नक्सा पास नगरी कुनै पनि संरचना बनाउनु नहुने वाध्यकारी व्यवस्था छ । सोही ऐनमा भवनको परिभाषा अन्तर्गत कुनै नयाँ निर्माण हुने घर, पुरानो भत्काएर बनाइने नयाँ घर, पुरानो घरमा तला थप्ने काम, बार्दली वा छत पुननिर्माणको अवस्थालाई जनाइएको छ । यसरी निर्माण हुने भवन जुन स्थानीय तहमा छ, त्यही स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिकाबाट अनिवार्य नक्सा स्वीकृत गर्नु पर्ने व्यवस्था सोही ऐनमा उल्लेख छ । यसरी भवन निर्माण गर्न चाहने व्यक्ति वा सरकारी कार्यालयले प्रस्तावित नक्सासहित तोकेको ढाँचामा गाउँपालिका वा नगरपालिकामा निवेदन दिनु पर्ने व्यवस्था कानूनको दफा २८ मा व्यवस्था छ । यो दफामा उल्लेख भएको सरकारी कार्यालय भन्ने शव्दलाई परिभाषा खण्डमा गएर हेर्ने हो भने सरकारी कार्यालय भन्नाले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, नेपाली सेना, संवैधानिक नियोग, अदालतसम्मका कार्यालयलाई जनाइएको छ । यसमा भएको अर्को उल्लेखनीय सवाल भनेको यदि राष्ट्रिय सुरक्षाका कोणबाट भवनका भित्री संरचना खुलाउन नमिल्ने अवस्थामा भवनको लम्बाई, चौडाई र भवनले ओगटेको क्षेत्रफल उल्लेख गरेर नक्सा स्वीकृत गराउनु पर्ने व्यवस्था छ । 

यसरी पेश गरिएका नक्साका आधारमा भवन निर्माण गर्न दिने कि नदिने भन्ने अधिकार स्थानीय सरकारमा सुरक्षित छ । अर्थात्, भू—जोखिम संवेदनशीलता आधारमा प्रस्ताव गरिएको जमिनमा, प्रस्ताव गरिएको भवन बनाउन रोक लगाउन सक्छ । 

कानूनमा भएको व्यवस्था र वीर अस्पताले गरिरशेको काम परम्पर विरोधी देखिए अव समाधानको बाटो के त? प्रशनको उत्तरमा महहानगरका सूचना अधिकारी एवं कानून महाशाखा प्रमुख बसन्त आचार्य — वीर अस्पतालले गरिरहेको काम गैर कानूनी भएको टिप्पणी गर्नुभयो । भवन र्निाण गर्दाका मापदण्ड छन् । पहिले भवन बनाएर नक्सा स्वीकृत गर्ने होइन, पहिले नक्सा स्वीकृत गरेर त्यसबमोजिम भवन बनाउने हो । सूचना अधिकारी आचार्य थप्दै भन्नुहुन्छ — यदि अस्पतालले काम गरिरहेको छ भने पहिले काम रोकेर नक्सा स्वीकत गराउने प्रक्रियामा आउनु प¥यो । त्इसपछि स्वीकृत नक्साबमोजिम काम थालनी गर्नुप¥यो । 

आफूखुशी बनाएको भवन गैरकानूनी हो । यो बाटोमा कसैले पनि लाग्नु हुँदैन, सूचना अधिकारी आचार्यको सुझाव छ । 


यसमा तपाइको मत