काठमाडौँमा ‘नमूना विद्यालय विकास’ कार्यक्रम कार्यान्वयनमा : छानिएका हरेक विद्यालय २ लाख रुपैयाँ प्रदान

सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन महानगरको शैक्षिक सुधार कार्यक्रम थालिएको हो — शिक्षा अधिकारी सुवेदी

काठमाडौँ । काठमाडौँ महानगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने कार्यक्रम थालनी भएको छ । एउटा वडामा एउटा विद्यालय पर्ने गरी कार्यक्रम थालिएको हो । कुनै वडामा क्षमता बढाएर पनि नमूना विद्यालयका रुपमा सञ्चालन गर्न नसकिने भए त्यो वडालाई प्रत्यक्ष लाभ हुने गरी छिमेकी वडामा भएको विद्यालयलाई स्तरउन्नति गर्ने गरी विद्यालय छनौट भएको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीको भनाइ छ ।

विद्यालय छनौट गर्न ०७६ माघ २० गते शिक्षा समितिका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ‘नमूना विद्यालय छनौट समिति’ गठन गरेको थियो । शिक्षा अधिकारी सुवेदी सदस्य सचिव रहनुभएको समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य रश्मी खड्का, सहरी योजना आयोगको शिक्षा हेर्ने सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागको कार्यक्रम हेर्ने अधिकारी तारापति खरेल र विद्यालय प्रशासन हेर्ने मोतीप्रसाद भट्टराई हुनुहुन्थ्यो ।

समितिको प्रतिवेदनअनुसार नमूना विद्यालय विकास कार्यक्रम अघि बढाइएको शिक्षा अधिकारी सुवेदीको भनाइ छ । महानगरले सामुदायिक विद्यालयमा शिक्षाको स्तर बढाउन ‘एक वडा, एक नमूना विद्यालय’ नीति लिएको छ । यो नीतिलाई कार्यान्वयन गर्न विभागले काम थालेको हो । सुवेदी भन्नुहुन्छ, ‘अहिले नमूना विद्यालय घोषणा गरिएको होइन, छनौट भएका विद्यालयहरुको स्तरउन्नति गरेर नमूना विद्यालय बनाउन थालिएको हो ।’

विद्यालय सुधार कार्यक्रमअन्तर्गत छनौट गरिएका विद्यालयहरुलाई २५ वटा सूचक आधारमा २ चरणमा मुल्याङ्कन गरिएको थियो । शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईकाअनुसार मुल्याङ्कनको पहिलो चरणमा विद्यालयहरुलाई स्वमुल्याङ्कनको फारम भर्न लगाइएको थियो । त्यस फारमबाट प्राप्त भएको सूचनालाई आधार मानेर दोस्रो चरणमा छनौट समितिले १०० पुर्णाङ्कमा मुल्याङ्कन गरेको थियो ।

मुल्याङ्कनका सूचकहरु

१) विद्यार्थी संख्या
२) बालमैत्री शिक्षण
३) कक्षागत औसत सिकाइ उपलब्धीको विश्लेषण र अभिलेख व्यवस्थापन
४) विषयगत विभागको गठन, निर्णय र कार्यान्वयन व्यवस्था
५) विषयगत शिक्षक व्यवस्थापन
६) अभिभावक, विद्यार्थी र शिक्षकको गुनासो व्यवस्थापन
७) प्राथमिक उपचारको व्यवस्था
८) शिक्षण सुधार योजनाको निर्माण र प्रयोग
९) विद्यालय सुधार योजना निर्माण, अद्यावधिक र कार्यान्वयन
१०) सामाजिक परीक्षण
११) छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्थापन
१२) ०—५ सम्मका विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्थापन
१३) क्यान्टिनको व्यवस्था
१४) विद्यालयको सरसफाइ (छात्रामैत्री / अपाङ्गमैत्री शौचालय)
१५) शिक्षकको मासिक बैठक र मुख्य मुख्य निर्णय
१६) विद्यालय व्यवस्थापन समितिको बैठक संख्या र मुख्य मुख्य निर्णय
१७) शिक्षक अभिभावक संघ बैठक र मुख्य मुख्य निर्णय
१८) बुक कर्नर, पुस्तकालय र प्रयोगशालाको निर्माण र प्रयोग
१९) विद्यार्थीको निरन्तर मुल्याङ्कन तथा पोर्टफोलियो निर्माण र प्रयोग
२०) शिक्षक र विद्यार्थीको नियमित पोशाक
२१) नियामक निकाय, संघ संस्था र सरोकारवालाहरुसँगको समन्वयकारी भूमिका
२२) सूचना प्रविधिको प्रयोग
२३) अभिलेख व्यवस्थापन
२४) सभा हलको व्यवस्थापन
२५) विद्यालयले आफ्नै प्रयासमा गरेका नविनतम कामहरु

यीमध्ये एउटा सूचकमा सबैभन्दा धेरै १० अङ्क र सबैभन्दा कम २ अङ्कमा मुल्याङ्कन गरिएको थियो । १० वटा सूचकमा समान ५ अङ्कमा मुल्याङ्कन गरिएको थियो ।

मुल्याङ्कनबाट छनौट भएका विद्यालयहरु

वडा १ नन्दी रात्री माध्यमिक विद्यालय
वडा ३ शिवपुरी माध्यमिक विद्यालय
वडा ४ बाँसबारी माध्यमिक विद्यालय
वडा ४ पञ्चकन्या माध्यमिक विद्यालय
वडा ५ टंगाल माध्यमिक विद्यालय
वडा ६ जनकल्याण माध्यमिक विद्यालय
वडा ७ श्रम राष्ट्रिय माध्यमिक विद्यालय
वडा ८ शारदा आवासीय विद्यालय
वडा ९ गुह्येश्वरी माध्यमिक विद्यालय
वडा १० वुद्धनगर आवासीय विद्यालय
वडा ११ गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालय
वडा १२ सरस्वती निकेतन माध्यमिक विद्यालय
वडा १२ महेन्द्र सरस्वती सेवा आवासीय विद्यालय
वडा १३ ज्ञानोदय माध्यमिक विद्यालय
वडा १४ जनपथ माध्यमिक विद्यालय
वडा १५ गीतामाता माध्यमिक विद्यालय
वडा १६ तरुण माध्यमिक विद्यालय
वडा १७ शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय
वडा १८ भक्त विद्याश्रम माध्यमिक विद्यालय
वडा १९ अरुणोदय आवासीय विद्यालय
वडा २० परोपकार माध्यमिक विद्यालय
वडा २१ नवयुग माध्यमिक विद्यालय
वडा २२ हिमालय माध्यमिक विद्यालय
वडा २५ कन्या मन्दिर माध्यमिक विद्यालय
वडा २६ शान्ति विद्यागृह माध्यमिक विद्यालय
वडा २७ संस्कृत माध्यमिक विद्यालय
वडा २८ सहिद शुक्र माध्यमिक विद्यालय
वडा २८ पद्मोदय माध्यमिक विद्यालय
वडा २९ विजय स्मारक माध्यमिक विद्यालय
वडा ३० ज्ञानविकास आवासीय विद्यालय
वडा ३१ सिद्धेश्वर माध्यमिक विद्यालय
वडा ३२ कोटेश्वर सरस्वती माध्यमिक विद्यालय

छनौट भएका हरेक विद्यालयहरुलाई आ. व. ०७७/०७८ को कार्यक्रमअन्तर्गत महानगरको आन्तरिक स्रोतबाट २/२ लाख रुपैयाँ वितरण गरिसकिएको छ । शिक्षा अधिकृत भट्टराईकाअनुसार आगामी आ. व. ०७८/०७९ मा १/१ लाख रुपैयाँ थपेर हरेकलाई ३/३ लाख रुपैयाँ दिइनेछ ।

उपलब्ध गराइएको रकमबाट विद्यालयहरुले विषयतगत शिक्षकको तालिम चलाउनु पर्नेछ भने विषयगत समिति गठन गरी तालिम र अनुसन्धानमुलक काम गर्नुपर्नेछ । यसैगरी विषयगत प्रयोगशाला निर्माण, अभिलेखीकरण, शैक्षिक सामाग्री निर्माण, प्रयोग र व्यवस्थापन, अभिमुखीकरण गर्ने, नमूना कक्षाको विकास गर्ने, कुनै एक विषय हबको विकास गर्नुपर्छ । यसैगरी सबै शिक्षकले प्रत्येक बर्ष एउटा कार्यमुलक अनुसन्धान, बाल अध्ययन, पुस्तक समीक्षा शीर्षकमध्ये एउटामा अनुसन्धान गर्नुपर्नेछ ।

बार्षिक कार्य तालिका, शैक्षणिक योजना र दैनिक पाठयोजना तयार गर्ने र कार्यान्वयन गराउनु पर्नेछ । विद्यालय सुधार, शिक्षण सुधार योजना निर्माण, प्रयोग, समीक्षा र पृष्ठपोषणका आधारमा अद्यावधिक गर्नुपर्नेछ ।

विषयगत, कक्षागत, तहगत र विद्यालयगत सिकाइ उपलब्धी विश्लेषण र प्रकाशन गर्नुपर्नेछ । अभिभावकको भेलामा सामाजिक परीक्षण, समीक्षा र आगामी बर्षका लागि सुझाव लिनुपर्नेछ । त्यस्तै विषयगत शिक्षकको मासिक भेला, लघु शैक्षिक भ्रमण र प्रतिवेदन प्रकाशन गर्नुपर्नेछ । यसैगरी शैक्षिक सत्रको शुरुवात र दोस्रो त्रैमासिक परीक्षापछि सार्वजनिक सुनुवाई गर्नुपर्नेछ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत