पानी आउने र जाने बाटो बन्द गरिएको सहर

आकाशे पानी संकलन आवश्यकता कि वाध्यता?

चन्द्रमणि भट्टराई

जेठ १४

काठमाडौं । काठमाडौं पानी आउन र जान बन्द गरिएको सहरका रुपमा बिकसित भएको तर्क गर्दै, जल उपयोगका क्षेत्रका काम गर्ने विज्ञहरुले परम्परागत प्रणाली मासेर यो अवस्थामा पुगेको बताएका छन् । काठमाडौं महानगरपालिकाले भवन नक्सा परामर्शदाता र घरधनीहरुका लागि आयोजना गरेको बर्षे पानी संकलन विषयक एक दिने अभिमुखीकरणमा उनीहरुले — पानीको अभावले आउने विपत्ति सामना गर्ने दिन टाढा नरहेको बताए । विगतमा सडक साँघुरो भएर डोजर चलाएजस्तो एक दिन पानी व्यवथापन गर्न भएका संरचना भत्काउँदै पानी खोज्दै गर्नु पर्ने दिन आउन सक्छ — उनीहरुको काठमाडौंलाई चेतावनी दिए ।

अभिमुखीकरणमा बोल्दै महानगरका सहसचिव राजेश्वर ज्ञवालीले चैतदेखि श्रावण महिनासम्म आकाशबाट झरेको पानी बटुलेर प्रयोग गर्न पाए मात्र पनि सहरबासीको ठूलो समस्या समाधान हुने बताउनुभयो । घरमा आकाशे पानी संकलन गर्ने प्रणाली जडान गर्ने घर धनीलाई नक्सा शुल्कमा १० प्रतिशत छुट दिइएको छ । तर यो कुरा परामर्शदाताले घरधनीलाई बुझाउन सकेनन् । त्यसैले महानगरले खोजेको उपलब्धी हासील हुन सकने । सहसचिव ज्ञवालीले भन्नुभयो — जानेर, बुझेर सो अनुरुप व्यवहार नगर्नेमाथि पनि हाम्रो निगरानी छ ।  

काठमाडौंको विगत हेर्ने हो भने यस क्षेत्रमा प्राकतिक रुपमै पोखरीमा पानी संकलन गर्ने, राजकुलोबाट ढुङ्गेधारामा लगेर पानी वितरण गर्ने, त्यसबाट उब्रिएको पानी जमिनमै पठाएर पानीको पुनभरण गरिन्थ्यो । यसबाट पानी व्यवस्थापनको प्रणाली सन्तुलित रुपमै चलिरहेको थियो । पछि सहरमा बस्ती बढेसँगै पोखरीमा पनि घर बने । राजकुलो पनि मासियो । ढुङ्गेधारा पनि उखेलिए, पुरिए । त्यसैले परम्परागत प्रणाली काम नगर्ने अवस्थामा पुग्यो । यसपछि सहरमा पानीको अनिकाल बढ्दै गयो । त्यसैले अव पानी जोहो गर्ने कार्यक्रम चलाउनु पर्ने भो । महानगरको भवन इजाजत विभागका प्रमुख रविन्द्र पौडेलको देखाइमा अव गरिने काम अभाव व्यवस्थापनका लागि गरिने काम हुन् । पहिलेको प्रणाली प्राकृतिक थियो । यसले पर्यावरण, जीव र जीवनको जीविकोपर्जनजस्ता वहु पक्षीय लाभमा प्रभाव राख्थ्यो । अहिले गरिने कामबाट पानीको अभाव कम गराउन र जमिन पुनभरण योगदान पुग्न सक्छ कि भन्ने हो । 

अहिले काठमाडौंको आवश्यकता र वास्तविकता परस्पर विरोधको अवस्थामा छन् । पानी पर्ने वित्तिकै एकातिर सडक जलामय हुने समस्या छ त्यसपछिको तुरुन्तै पानीको अभाव बोकेर हिंड्नु पर्ने अवस्था छ । पानी परेका बेला छतमा जम्मा भएको पानी सडकमा खसाल्दा सडकको आयु पनि छोटिएको छ । हिजै मात्र महानगरको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले — सामाजिक सञ्जालमा सूचना प्रकाशित गर्दै, आफ्नो क्षेत्रका सडक पिच हुने भएकोले कसैलाई पनि कसैले पनि छतको पानी सडकमा नखसाल्न आग्रह गर्नुभएको छ । उहाँको सूचनामा भनिएको छ — “कामनपा वडा नं. २ का लगभग प्रत्येक स्थानमा पिच हुँदैछ । तपाईको घरबाट झर्ने आकाशे पानीको व्यवस्था गर्नुहोला । सिधै सडकमा नछोड्नुहोला । कारवाही हुनेछ ।” यसरी हेर्दा आकाशे पानी संकलन कार्यले पानीको अभाव पूरा गर्न मात्र होइन, पूर्वाधारको उपयोगलाई दिगो बनाउन पनि योगदान गर्छ । 

महानगरका उपनिर्देशक वीरबहादुर खड्काका अनुसार — उपयुक्त समयमा नीति निर्माण नभएकाकारण पनि यस प्रकारका समस्या परिरहेका छन् । अर्कोतिर भएका व्यवस्था कार्यान्वयनमा पनि समस्या छ । पानीको व्यवस्थापनमा नीति पैरवी गरिरहेको गैरसरकारी संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यका देखाइमा पानीको श्रोत जोगाउन नसकेर समस्या चर्को हुने क्रममा पुगेको हो । 

काठमाडौं र पानी 

एक तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा भएको १५ अर्व घनमिटर पानीमध्ये ३ अर्व घनमिटर पानी प्रयोग गर्न सकिन्छ । यसमध्ये दैनिक माग धान्न त्यहीबाट निकालिएको पानीबाट कति परिमाण घट््यो अव कति बाँकी छ, तथ्याङ्क सार्वजनिक गरिएको पाइदैन । न त निकालिएको पानीलाई पुन भरण गरेर मात्रा सन्तलुन गर्ने ठोस योजना देखिन्छ । ३८ करोड लिटर पानीको दैनिक माग हुने उपत्यकामा अत्याधिक वितरण हुँदा बर्खायाममा १५ करोड लिटर पानी उपभोक्ताको धाराका लागि पठाइन्छ । यसमा हुने चुहावट उपभोक्ताकै भागबाट काटिन्छ अर्थात्, चुहिएको पानी पनि १५ करोड लिटरबाटै चुहिने हो । सुख्खा याममा उपत्यकामा ११ करोड लिटर पानी वितरण हुन्छ । यो तथ्याङ्क हेर्दा उपत्यकामा दैनिक कम्तीमा २३ करोड लिटर र बढीमा २७ करोड लिटर पानी अभाव छ ।

जीवन यापनका लागि आधारभूत आवश्यकता पानीको अभावमा जीवन चल्न सक्ने कुरै भएन । यो अभाव पूरा गर्न उपत्यकामा डिप बोरिङ् तथा आसपासका जलाधार क्षेत्रमा संकलन गरिएको पानी विक्रीबाट खाँचो टार्ने प्रयत्न भएको देखिन्छ । पानीका क्षेत्रमा काम गर्ने संघ संस्था तथा निकायले उपत्यकामा दैनिक २ करोड रुपैयाँको पानीमा कारोवार भइरहेको जनाएका छन् । साना बोतलमा भरेर विक्री गर्नेदेखि जारमा भरेर विक्री गर्ने तथा ट््याङ्करबाट पानी ल्याएर घरमा राख्नेसम्मका काम यसभित्र पर्दछन् । यसका लागि करीव ७५० ट््याङ्कर सम्लग्न छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुमित लिएरै उपत्यकामा करीव ३२० वटा डिप ट््युवेल सञ्चालित छन् । जसमा ८१ वटा लिमिटेड आफैंले सञ्चालन गरेको छ । यसबाहेक करीव ८ करोड लिटर पानी गैर कानुनी रुपमा जमिनमुनिबाट निकालिएको अनुमान गरिएको छ । बाँच्नकालागि यसरी खाँचो टार्नुसँग प्राकृतिक सम्पत्तिको दोहन र यसका दूरगामी प्रभाव कस्ता हुन सक्छन्? विश्लेषण देखिँदैन । 

अर्कोतर्फ पानीका श्रोतमाथिको मानवीय अतिक्रमण डरलाग्दो सवाल हो । उपत्यकामा भएका करीव ३९० वटा ढुङ्गेधारामध्ये ४८ वटा लोप भइसकेका छन्, जसमध्ये महानगर क्षेत्रबाट मात्र ३१ वटा हराएका हुन् । बाँकी भएका धारामा पनि पानी आउन समस्या छ । ढुङ्गेधारामा पानी ल्याउने प्रणाली सहरीकरणकाकारण नास भइरहेका हुन् । यदि ढङ्गेधाराहरुको संरक्षण मात्रै पनि गर्न सकेको भए ३ लाख ५० हजार लिटर दैनिक पानी उपलब्ध हुन्छ, जलसरोकार राख्नेहरुको यो अनुमानतर्फ सम्बद्धले ध्यान पु¥याउन सकेनन् अवस्थाले देखाउँछ ।

पानी उत्पादनका दृष्टिले उपत्यकामा, चक्रपथदेखि मनोहरा खोलासम्मको क्षेत्र, चक्रपथदेखि माथिल्लो भाग र अन्य बाँकी भाग गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । उक्त क्षेत्रबाट पानी उत्पादन गर्न राखिएका सूचकहरुको पूर्ण अनुगमन तथा नियमन हुन नसक्दा पानी निकालेका स्थानमा पुनभरण हुन नसकेर भौगोलिक अवस्थामा आएको परिवर्तन र प्रभाव मुल्याङ्कन हुन सकेको छैन । यसले उपत्यकाको भौगोलिक सन्तुलन कसरी कायम रहन्छ? प्रश्न उठेको छ । 

आफैंभित्रको श्रोतले नधान्ने भएपछि काठमाडौंबासी अहिले मेलम्चीको पानी पर्खेर बसेका छन् । योजना अनुसार मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट संकलन गरेर काठमाडौंमा ५१ करोड लिटर पानी आउनेछ । 

लामो दुरीको यात्रा पार गरेर काठमाडौं आउने पानीको उपलब्धताको कुरा त छँदैछ । यो पानी काठमाडौंमा नियमित ल्याउन सकिने प्राकृतिक आधार छ भन्न सकिँदैन । मेलम्चीको पानीमा निर्भर भएका काठमाडौंबासीका लागि कुनै दिन त्यताको पानी रोकियो भने कस्तो असर पर्छ? दीर्घकालीन योजनामा समेटिएको देखिँदैन अर्थात् भनौं, टाढाको श्रोतसँगै स्थानीय श्रोत व्यवस्थापन समानान्तर योजनाको विषय हो । 


यसमा तपाइको मत