विपद् व्यवस्थापनमा क्षमता विकास गर्नु पर्ने निष्कर्ष निकाल्दै तालिम सम्पन्न

तालिममा ४ जना महिला सहभागी

 

चन्द्रमणि भट्टराई 
जेठ १३ 

काठमाडौं । गएको ७ गतेबाट शुरु भएको विपद् व्यवस्थापन तालिम आज (आइतबार) समापन भएको छ । काठमाडौं र ललितपुर महहानगरका वारुण यन्त्र कार्यालयमा काम गर्ने अग्नि नियन्त्रक र काठमाडौं महानगरका नगर प्रहरी गरी ३१ जना सहभागीलाई प्रदान गरिएको तालिम समापन अवसरमा सहभागीहरुले सिकेका ज्ञान र सीपको प्रदर्शन गरेका थिए । यस क्रममा टेकुमा रहेको महानगरको चमती मनोहरा जग्गा विकास आयोजनाको भवनको माथिल्लो तलामा विपत्तिमा परेकाहरुलाई खोज्ने, तिनीहरुलाई घरको भित्री तलाबाट निकाल्न नसक्ने अवस्थामा बाहिरी तहबाट निकाल्ने, सम्भावित पीडितहरुको खोजी गर्ने, डोरीको मद्दतबाट अग्लो संरचनामा जाने तथा ओर्लने सीप प्रदर्शन गरेका थिए । 

यससँगै तालिममा उनीहरुलाई खोंचमा परेको व्यक्तिलाई उद्धार गर्नेजस्ता विषयमा पनि ज्ञान दिइएको थियो । अन्तरराष्ट्रिय रेडक्रसको सहयोगमा सम्पन्न भएको तालिम समापन गदैृ महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले — तालिमको मात्रा र तह बढाउने योजना रहेको सुनाउनुभयो । यो पुण्य प्राप्त गर्ने काम हो । दक्ष मानिसले मात्र यस प्रकारको काम गर्न सक्छन् । अदक्ष मानिसबाट यो कामको कल्पना हुँदैन । संयोजक शाक्यले भन्नुभयो — हामी हाम्रा कर्मचारी र उनीहरुजत्तिकै समुदायका मानिसलाई यस कार्यमा सक्षम बनाउन चाहन्छौं ।

सो क्रममा सहभागीकातर्फबाट धारणा राख्दै सम्झना पाण्डेले — तालिम शुरु हुनु अघि छोरी मान्छेले कसरी काम गर्ने होला भनेर डर लागेको तर तालिममा सहभागी बन्दै जाँदा आँट र रुची बढेको धारणा राख्नुभयो । उहाँसहित तालिममा ४ जना महिला सहभागी हुनुहुन्थ्यो । 

तालिमपश्चात् प्रशिक्षक र प्रशिक्षार्थी सवैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

 

 

 

  

 

यसमा तपाइको मत