मनुमित्र कार्यक्रमलाई परिणाम देखाउन एक मौका

विगतका कमजोरी सच्याएर परिणाम देखाउनु पर्छ ः मेयर शाक्य 

चन्द्रमणि भट्टराई 

जेठ ११

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सडकमा डुलिरहने कुकर व्यवस्थापनका लागि मनुमित्र नाम दिएर महानगरसँगै मिलेर काम गरिरहेका ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटलाई परिणाम देखाउनु अर्को एक मौका दिइएको छ । १६ मार्च २०१६ बाट ३ बर्ष भित्र, सहरका कुकुर गणना गर्ने खोप लगाउने तथा बन्ध्याकरण गर्ने कामले ठोस गति लिन नसकेको टिप्पणी आए पछि कार्यक्रमको निरन्तरता हुने नहुने अन्यौल थियो । यसै वीच, सहरी, व्यवस्थापन, सहरी सुरक्षा र पशु अधिकारका लागि महानगरले जिम्मेबारी छोड्नु नहुने निष्कर्ष निकालेपछि थप एक बर्षका लागि साझेदारसँग शुक्रबार सम्झौता नविकरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको रोहवरमा महानगरका सहसचिव राजेश्वर ज्ञवाली र साझेदारको तर्फबाट द जान गुडल इन्स्टिच्युटकी कोषाध्यक्ष सृष्टि सिंह श्रेष्ठले सम्झौता नविकरण पत्रमा हस्ताक्षर गर्नुभयो । 

सो अवसरमा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — विगत कार्यक्रमको समीक्षा गर्दै लक्षित समयमा लक्षित काम गर्न नसकिएको विगत दिन नविर्सन आग्रह गर्नुभयो । हामी २२ हजार कुकुरको संख्या घोकेको घोक्यै छौं । यो संख्याभन्दा तलमाथि कहिले हुन्छ? मेयर शाक्यको प्रश्न थियो । सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — दिगो विकास लक्ष्य प्राप्त गर्न र वातावरणीय सुधारका लागि गरिएका कामको छिट्टै प्रभाव देखिनु पर्ने धारणा राख्नुभयो । 

महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार — नविकरण भएको सम्झौता अनुसार साझेदारले सामुदायिक कुकुरहरुको बध्याकरण गर्नु पर्ने, रेविज विरुद्धको भ्याक्सिन लगाउनु पर्नेछ । 

सहर र कुकुर 

अध्ययन प्रतिवेदनका अनुसार व्यक्तिगत कुकुर नै मालिकले हेरचाह गर्न छोड्दा सडकमा आएर बस्ने गर्छन । सडकमा छोडिएका कुकुरले सहरी व्यवस्थापन र वातावरणमा मात्र होईन मानव स्वास्थ्यमा पनि चुनौती थपिदिएको छ । अध्ययनअनुसार नेपालमा प्रति वर्ष १ सय जना मानिस रेविज रोगका कारण मृत्युवरण गरिरहेका छन्, भने प्रति वर्ष ३५ हजार मानिसहरुले रेविज विरुद्धको खोप लाउने गरेका छन् । यसको पछाडि कुकुर व्यवस्थापनको पक्ष जोडिएको छ ।  रेविज रोग लागेका व्यक्ति मध्ये ९९ प्रतिशतमा कुकुरको टोकाइबाट हुने गरेको पाइन्छ । विश्वको तथ्याङक हेर्दा प्रति १० मिनेटमा १ जनाको रेविज रोगका कारण मृत्यु हुने गरेको छ । यसरी मृत्यु हुनेमा बालबालिकाको संख्या बढी रहेको पाईन्छ । 

कुकुर व्यवस्थापन परियोजना कुकुरका लागि मात्र होइन, यो त वातावरणीय सुधार, सहरी स्वास्थ्यको प्रवर्धन र मानव जीवन सहजताका लागि हो । कार्यक्रमको प्रभाव मुल्याङ्कन गर्दा यस्ता सूचक हेर्न आवश्यक देखिन्छ । सडकमा भएका सामुदायिक कुकुर व्यवस्थापन गर्ने, घरपालुवा कुकुरलाई दर्ता गर्ने, विधिको पालना गरेर मात्र कुकुर पाल्ने व्यवस्था गर्ने तथा पशुकल्याणमा आधारित सहरी आचरण निर्माणका लागि हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय पशु व्यवस्थापन समिति र महानगरमा यसको संयोजन गर्न छुट्टै संयन्त्र तयार गर्ने परियोजनाको लक्ष्य हो । 


यसमा तपाइको मत