बालबालिकाको कुरा सुन्न, १०९८ नम्बरको पैसा नलाग्ने टेलिफोन प्रभावकारी बन्दै

२१ हजार ९१० महिलासहित ५० हजार २५५ जनाले ८९ हजार ८१० पटक फोन गरेर गुनासा टिपाए 

 

चन्द्रमणि भट्टराई

जेठ ४


काठमाडौँ । बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षण र परामर्शका लागि स्थापना गरिएको पैसा नलाग्ने फोन दश—नौ— आठ (१०९८) मा सन् २०१७ भरिमा ५० हजार २५५ जना व्यक्तिले फोन गरेर बालबालिकाको जोखिमका विषयमा कुरा टिपाए । यसरी फोन गर्नेमध्ये २१ हजार ९१० जना महिला थिए भने ९ हजार १०६ जना बालिकासहित १९ हजार ६११ जना बालबालिका थिए । इन्टरनेशनल चाइल्ड हेल्पलाइन डे (मे १७) का अवसरमा सिविन नेपालले विहीबार राजधानीमा आयोजना गरेको नेपालमा चाइल्ड हेल्प लाइनको रउका सेवा प्रगति र महत्वका विषयमा आयोजना गरिएको अन्तरक्रियामा यस्तो तथ्य सार्वजनिक गरिएको हो । 

हेल्प लाइनमा दर्ता भएका घटनाहरुमा मानसिक हिंसा, शारीरिक दण्ड सजायँ, बालबालिका ओसारपसार, दुव्र्यवहार, यौन तथा श्रम शोषण, बाल विबाह, अपहरण, अनलाइन टेलिफोन दुव्र्यवहार, बाल विज्याइँ जस्ता घटना छन् । यसमा बालबालिका विरुद्धको अपराध तथा कानूनसँग बाझिएका ५७७ वटा घटना दर्ता भएका छन् । ३३२ जना बालिकासहित यस प्रकारका घटनामा प।िवारबाट त्यागिएका, हराएका, छोडिएका, मनो सामाजिक पीडा दिइएका, अभिभावक जेलमा परेर वेसहारा बनेको बालबालिका सम्बन्धि गुनासा, उद्धारका लागि आग्रह गरिएका तथा परामर्श माग गरिएका घटना छन् । 

यस अवधिमा १४१ बालिकासहित ३११ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको थियो । यसरी उद्धार गरिएकामध्ये ८५ जना बालिकासहित २३५ जना बालबालिकालाई पारिवारिक पुनमिलन गराइएको थियो । 

बाल हेल्प लाइनमा फोन गरेर समस्या दर्ता गराउने बालबालिकामध्ये सबैभन्दा बढी ११ बर्षदेखि १३ बर्ष उमेर समूहसम्मका छन् । उनीहरुमध्ये ६८ प्रतिशत विद्यार्थी हुने भने यसरी गुनासो प्राप्त भएपछि तिनीहरुको व्यवस्थापन र कानुनी सहयोगका लागि दर्ता गरिएका मुद्दामध्ये ७१ जना बालिका र ३ जना बालकको घटना यौन शोषण तथा यौन दुव्र्यवहार सम्बन्धि छन् । त्यस्तै जवर्जस्ती करणीमा ५८ वटा, श्रम शोषणमा ३० वटा र वेचविखनमा ९ वटा मुद्दा दर्ता छन् । यी मुद्दाहरु जिल्ला अदालत, प्रहरी कार्यालय र श्रम कार्यालयमा दर्ता गरिएका हुन् । 

यस प्रकारका घटना मानवीय सभ्यताको कलंक भएको महानगरकी ृपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको प्रतिक्रिया छ । उहाँ भन्नुहुन्छ — हामी समाज रुपान्तरण गर्ने धेरै ठूला कुरा गर्छौ तर समाजमा भएका साना साना समस्याहरु समाधान हुन सकिरहेका छैनन् । यिनीहरुलाई न्युनीकरण गर्ने दिशामा मेरो दृष्टि छ । हेल्पलाइनमा प्राप्त भएका सूचना अपराधका संकेत हुन्, यिनीहरुलाई समयमै पहिचान गर्न सके सम्भावित ठूला घटना श्रोतमै समाप्त हुन सक्छन् । सिविनका अध्यक्ष माधव प्रधान भन्नुहुन्छ — हेल्प लाइन प्रयोगलाई थप व्यवस्थित बनाउँदै लैजान आवश्यक छ । 

बाल हेल्प लाइन, सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति र दूर सञ्चार प्राधिकरणको सहकार्यमा काठमाडौंसहित नेपालका ११ जिल्लामा सञ्चालनमा छ । 


यसमा तपाइको मत