ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव, छलफल सकारात्मक Previous Post
सहमतिपछि सिसडोलमा फोहोर व्यवस्थापनको अवरोध हट्यो, आजैबाट फोहोर व्यवस्थापन थालियो

महानगरले गर्न सक्ने कामका सन्दर्भमा सहमति भएको छ, अन्य कार्यालयसँग सम्बन्धित काम पूरा गर्न छलफललाई नियमित गरिनेछ — मेयर शाक्य
काठमाडौँ । ल्याण्डफिल साइट प्रभावित स्थानीयका मागमा सन्बन्धमा काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, धुनिवेँसी नगरका प्रमुख बालकृष्ण आचार्यसहित जनप्रतिनिधि र स्थानीय प्रभावितसहितको छलफल र सहमतिपछि ७ दिनसम्म रोकिएको फोहोर व्यवस्थापनको अवरोध हटेको हो । आज भएको छलफल तेस्रो हो । हिजो भएको छलफलमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य अस्वस्थ्य भएपछि आज बस्ने गरी छलफल सकिएको थियो । छलफलमा रहेकै बेला आँखामा समस्या भएर प्रमुख शाक्य उपचारका लागि जानुभएपछि हिजोको वार्ता रोकिएको थियो । विरामी अवस्थामै आजको छलफलमा सहभागी हुनुभएका प्रमुख शाक्य सहमतिपछि पुनः उपचारका लागि अस्पताल जानु भएको थियो । उहाँ फर्किएपछि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति, सिसडोल बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिलगायत स्थानीय समूहले विभिन्न माग राखेर चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन थालेका थिए ।
सहमतिपछि आजै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा पु¥याइएको छ । जसमध्ये महानगरले २३ गाडी र निजी क्षेत्रले १३० गाडी फोहोर पु¥याएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फोहोरमैला मानवीय संवेदना, जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएकोले यसको व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै छलफलका मेयर शाक्यले स्थानीय मागलाई महानगरले गम्भीरताका साथ लिने गरेको बताउनुभयो । ‘महानगरले गर्न सक्ने कामका बारेमा म जिम्मेवार र प्रतिवद्ध छु । कार्यपालिका बैठक वा नगर सभामा लगेर टुङ्ग्याउनु पर्ने बिषय मेरो जिम्मा भयो । संघीय वा प्रादेशिक मन्त्रालय, विभागले गर्ने कामका सम्बन्धमा हामी सबै बसेर समाधान खोजौँ ।’ शाक्यको भनाइ थियो ।
सहमतिअनुसार ककनी गाउँपालिकाबाट माग भए आएका ४६ जना र धुनिबेँसी नगरबाट माग भइ आएका विषयगत र तहगत दरबन्दीमा पदपूर्ति गर्न सम्बन्धित पालिकाले करार सेवाका लागि प्रक्रिया थालनी गर्नेछन् । यसका लागि सरकारले तोकेको स्केलबराबरको तलव रकम महानगरले उपलब्ध गराउनेछ । संघीय सरकारकाबाट स्थायी पदपूर्ति भएपछि करार सेवाका जनशक्तिको अवधि र महानगरले दिने अनुदानको अवधि सकिनेछ ।
स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापनका लागि ककनी गाउँपालिका र धुनिबेँसी नगरले १० दिनभित्र उपयुक्त र दिगो योजना उपलब्ध गराउनेछ । यसका आधारमा सम्बन्धितविच छलफल गरेर निचोड निकालिनेछ ।
बञ्चरे डाँडामा फोहोर व्यवस्थापन सुरु गर्नुपूर्व कुँडुले र बञ्चरेडाँडाबाट अति प्रभावित र प्रभावित क्षेत्रको पहिचान गर्न १ हप्ताभित्र विज्ञ समिति गठन गरिनेछ । यो समितिले ९० दिनभित्र प्रतिवेदन दिनेछ । यसरी प्राप्त हुने प्रतिवेदनका आधारमा जग्गा अधिग्रहणलगायतका काम गर्न सम्बन्धित निकायलाई शिफारिस गरिनेछ ।
प्राविधिक शिफारिसअनुसार महानगरले सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजरको काम गर्नेछ ।
धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाका प्रभावित क्षेत्र विकासका लागि महानगरले आगामी आर्थिक बर्षदेखि बार्षिक ३ / ३ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसै गरी स्थानीय स्वास्थ्य सेवा सहजताका लागि महानगरले १ थान एम्बुलेन्स खरिद गरेर धुनिवेँसी नगरलाई उपलब्ध गराउनेछ ।
छलफलका क्रममा धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पुर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रसंशा गर्नुभयो । ’नुवाकोट वा धादिङ्बाट आउने स्थानीय स्तरका समस्या पालिकामार्फत ल्याउनु पर्छ । यसले मात्र असल शासन र संस्थागत चरित्र बोक्छ ।’ प्रमुख आचार्यको जोड थियो ।
छलफलमा सहमति भएका विषयसँगै छलफलका क्रममा सन्निकट क्षेत्रको प्रभाव, प्रदुषण नियन्त्रणका सामुहिक प्रयासमा वृक्षारोपण, जल, माटो वायुमा परेको प्रभाव मुल्याङ्कन र क्षति व्यवस्थापन, पुराना सहमति कार्यान्वयनको अवस्था, विषयगत काम र तिनको जिम्मेवारी, उपत्यकाका अन्य पालिकाको दायित्वलगायत विषय उठान भएका थिए । यसैगरी महानगरपालिको क्षेत्राधिकारभन्दा बाहिरका माग र मुद्दा सुनुवाई गर्ने अवस्था र संयन्त्रको महानगरले नेतृत्व गर्नुपर्ने माग उठेको थियो ।
निजी क्षेत्रका फोहोर संकलकहरु ढुवानीमा थप जिम्मेवार बन्नुपर्ने, सवारीको क्षमताअनुसार फोहोर ढुवानी गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारी बस्तीविचमा रोक्नु नहुनेलगायत विषयलाई स्थानीयले प्रमुख मुद्दाका रुपमा अघि सारेका थिए ।
चन्द्रमणि भट्टराई
Follow Our Author
No social network is added for the current author