बालाजु बाईपासमा सूचना केन्द्र निर्माण थालियो, मेयर शाक्य र राज्यमन्त्री मानन्धरबाट जग पूजा

महानगरका अन्य स्थानमा पनि सूचना केन्द्र निर्माण गर्छौः मेयर शाक्य


काठमाडौँ । काठमाडौँ महानगरको उत्तरी क्षेत्र बालाजु बाइपासमा सूचना केन्द्र निर्माण थालनी गरिएको छ । आज विहान महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रुपमा केन्द्र निर्माणका लागि हालिएको जग पूजा गरेर काम थालनी गर्नुभएकोे हो ।

बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुनेछ । यो महानगरको स्वामित्वमा रहेको जमिन हो । करीब ७२ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुने केन्द्र बनाउन उपभोक्ता समितिले करीब ११ लाख रुपैयाँ लागत व्यहोर्नेछ ।

बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो । बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा केन्द्रबाट जानकारी दिइनेछ । ‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँ बारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ ।’ मन्त्री मानन्धरले भन्नुभयो, ‘बाइपासमा भएको विवाद सकिएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पत्ति जनताले उपभोग गर्न पाउने भएको छ ।’

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उहाँले भन्नुभयो, ‘उपत्यकामा खानेपानी र फोहोरको समस्या अब चाँडै दीर्घकालीन रुपमा समाधान हुनेछ ।’

काम थालनीपछि प्रतिक्रिया दिँदै महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहोरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । ‘सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सुचना उपलब्ध गराइने छ । सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायत बारेमा सूचना दिइनेछ ।’ शाक्यले सूचना केन्द्रसँगै आधुनिक शौचालय निर्माण हुने जानकारी दिनुभयो । ‘महानगरका अन्य स्थानमा पनि सूचना केन्द्र र सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाको योजना अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वताअनुसार काम भइरहेका छन् ।’

कार्यक्रममा वडा १६ का अध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यसप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । महानगरको उत्तरी भेगबाट बाहिरिने ठाउँ भएकोले बालाजु क्षेत्रको सूचना केन्द्र धेरैका लागि लाभदायक हुनेछ । उहाँको भनाइ थियो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत