फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग महानगरको अनुरोध

कुहिने र नकुहिने फोहोर छुट््याएर व्यवस्थापनमा सहयोग गर्न फोहोर उत्पादकसँग आग्रह

 

काठमाडौँ । काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितका नाममा आज एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरुलाई कुहिने र नकुहिने फोहोर छुट््याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारकोलाई फोहोर संकलन गर्ने गाडी आएरपछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।

विभागका प्रमुख हरिकुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’

अहिले साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकोले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर बर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । बर्गीकरण गरिएकोमध्ये कुहिने फोहोरलाई आफैले व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि घरमै राख्न तथा संकलन गर्ने गाडी आएपछि मात्र बाहिर निकालेर सहयोग गर्न विज्ञप्तिमा भनिएको छ ।

स्थानीय माग र सुनुवाईको वातावरणका विषयमा प्रतिक्रिया दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो — ‘सिसडोलबासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । यसलाई सकारात्मक रुपमा लिएर सहयोग हुने हाम्रो अपेक्षा हो । यदि निरन्तर अवरोध भयो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर माग राखेर फोहोर लैजान अवरोध गरेको छ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत